काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यले ढुवानी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने जुनसुकै ब्रान्डका गाडी खरिद गर्न तथा व्यवसाय विस्तारका लागि मुक्तिनाथ विकास बैंकबाट कर्जा लिन सक्नेछन्।
समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।
बैंकले महासंघमा आबद्ध सदस्यलाई आफ्ना १७६ वटै शाखामार्फत आकर्षक ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ।
यो सहकार्यबाट ढुवानी व्यवसायीलाई आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकले हाल अटो कर्जा, कृषि कर्जा र एमएमई कर्जामा पनि न्यूनतम ब्याजदरमा कर्जा प्रवाह गर्ने विशेष योजना सञ्चालन गरिरहेको जनाएको छ।
