काठमाडौं: अमेरिकाले भारतमाथि लगाउने घोषणा गरेको नयाँ करका कारण भारतको करिब ४८ अर्ब अमेरिकी डलर बराबरको निर्यात प्रभावित हुन सक्ने भन्दै उद्योग संगठन चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्री (सीटीआई)ले चिन्ता व्यक्त गरेको छ।
सीटीआईका अध्यक्ष बृजेश गोयलका अनुसार अमेरिकाले भारतसँग व्यापार सम्झौता भए १७ प्रतिशत र सम्झौता नभए २५ प्रतिशतसम्म कर लगाउने तयारी गरेको छ। यस नीतिले भारतमा पाँच लाख रोजगारी जोखिममा पर्न सक्ने उनले बताए। भारतले अमेरिकामा ठूलो परिमाणमा कपडा, औषधिजन्य सामग्री, विद्युतीय उपकरण र समुद्री खाद्य पदार्थ निर्यात गर्दै आएको छ। अमेरिकी करले यी क्षेत्रको निर्यातमा गम्भीर असर पुग्ने संगठनको भनाइ छ।
गोयलले व्यापारीहरूले यसअघि नै प्राप्त गरिसकेका अर्डर र अमेरिका पठाइसकिएका सामानको अवस्थाबारे समेत चिन्ता व्यक्त गरेका छन्। यस विषयमा सीटीआईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्ने तयारी गरेको छ। संगठनले अमेरिकाले भारतीय उत्पादनमा कर लगाए भारतले पनि अमेरिकी उत्पादनमाथि जवाफी कर लगाउनुपर्ने माग गरेको छ। गोयलका अनुसार भारतले जवाफी कर लगाए अमेरिकी सामान भारतीय बजारमा महँगो हुने र त्यसले अमेरिकी व्यापारीहरूलाई आफ्नै सरकारमाथि दबाब दिन बाध्य पार्ने छ।
यसैबीच, अमेरिकी कांग्रेसकी सदस्य ग्रेस मेङले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कांग्रेसमा नियन्त्रण हासिल गरेपछि यी कर हटाउन आवश्यक कदम चालिने बताएकी छन्।
