काठमाडौँ। नेपाल सरकार र इजरायल सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि आवेदन आह्वान गरिएको छ।
वैदेशिक रोजगार विभागले मङ्गलबार जारी गरेको सूचना अनुसार कुल १ हजार ४ सय ६४ जना नेपाली कामदारका लागि दरखास्त खुला गरिएको हो।
विभागका अनुसार छनोट हुने कामदारमा १ हजार १ सय ३२ महिला र ३ सय ३२ पुरुष रहनेछन्। छनोट भएका उम्मेदवारले मासिक न्यूनतम ५ हजार ८ सय ८१ इजरायली मुद्रा (एनआईएस) पारिश्रमिक पाउनेछन्।
आवेदन दिनका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उचाइ कम्तीमा १.५ मिटर र तौल ४५ केजी हुनुपर्ने मापदण्ड तोकिएको छ। शैक्षिक योग्यताका हकमा १० कक्षा उत्तीर्ण गरी कम्तीमा १५ महिनाको एएनएम वा सिएमए अध्ययन गरेको वा प्लस टु (१०+२) उत्तीर्ण गरी कम्तीमा तीन महिनाको केयर गिभर तालिम लिएको हुनुपर्नेछ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको २१ दिनभित्र विभागको अनलाइन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्। यसअघि इजरायल नभएका र परिवारका सदस्य इजरायलमा कार्यरत नरहेका व्यक्तिहरू मात्र यसका लागि योग्य हुनेछन्। छनोट प्रक्रियामा अङ्ग्रेजी भाषाको परीक्षा लिइनेछ भने अन्तिम छनोट इजरायलको पिवाले गोलाप्रथा मार्फत गर्ने विभागले जनाएको छ।
