काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले शुक्रबार बिहान ९ बजेसम्म कोषमा १८ अर्ब ३९ करोड ७० लाख ४५ हजार २१६ रुपैयाँ संकलन भएको जानकारी दिएका छन्।
यसैबीच, प्रधानमन्त्रीले सुरक्षा निकायहरूलाई आपसी समन्वय र सूचना आदानप्रदान गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन निर्देशन दिएका छन्। नागरिकको जिउधनको सुरक्षा र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन पनि उनले आग्रह गरेका छन्। भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा प्रधानमन्त्रीले हालैको बाढीपहिरोपछि भारतले उपलब्ध गराएको राहत सामग्रीप्रति आभार व्यक्त गरेका छन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति समीक्षा बैठक पनि शुक्रबारदेखि सुरु भएको छ। कार्यालयमा प्राप्त भ्रष्टाचारसम्बन्धी २१ वटा उजुरी छानबिनका लागि सम्बन्धित निकायमा पठाइएको छ। साथै, उपभोक्ता ठगी र कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई सघन बनाउने निर्णय भएको छ। सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग बढाउन र सरकारी प्रक्रियालाई डिजिटल बनाउन निर्देशन दिइएको छ।
साइबर सुरक्षाका लागि सरकारी वेबसाइटहरूमा एसएसएल र टीएलएस सर्टिफिकेट अनिवार्य गरिएको छ। पूर्वाधार विकासतर्फ अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशत र प्रसारण लाइनको प्रगति ६० प्रतिशत पुगेको छ। माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम आगामी चार वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले कात्तिक १७ गतेदेखि विद्युतीय सरकारी खरिद प्रणालीको दोस्रो संस्करण सञ्चालनमा ल्याएको छ।
