मुगु। नाग्म-गमगढी सडकखण्डअन्तर्गत झ्यारीखोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने कामले गर्दा १५ दिनदेखि यातायात अवरुद्ध भएको छ।
यसका कारण नेपालगन्ज र सुर्खेत बजार लैजान ठिक्क पारिएका स्याउ बाटोमै कुहिन थालेका छन्। बर्खायाममा सडक निर्माणको काम सुरु गरिएकाले स्थानीयले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
छायानाथ रारा नगरपालिका-८ का स्थानीय रतन रावलले निर्माण कम्पनीले हिउँदमा काम नगरी बर्खायाममा सडक खन्दा नागरिकले दुःख पाएको आरोप लगाए।
छायानाथ रारा नगरपालिका-४ का कृषक महेन्द्र भामका अनुसार सडक अवरुद्ध हुँदा दैनिक सयौँ नागरिक प्रभावित भएका छन्। साउन महिनामा मात्र चार पटक सडक बन्द भएको थियो भने भदौको पहिलो सातादेखि सडक पूर्ण रूपमा ठप्प छ।
सडक डिभिजन कार्यालय जुम्लाका साइट इन्जिनियर प्रदीप चौधरीका अनुसार प्रभात उपमा जेभीले सडक चौडा गर्ने जिम्मा पाएको छ। एक करोड ८२ लाख रुपियाँ लागतको यो आयोजनाको हालसम्म करिब ३५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण कम्पनीको म्याद २०८३ पुस मसान्तसम्म थपिएको छ। कार्यालयले काम सम्पन्न गर्न पटक-पटक ताकेता गरेको चौधरीको भनाइ छ।
मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले सडक खुलाउन सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय भइरहेको र तत्काल जेसिबी परिचालन गर्ने तयारी भएको जानकारी दिनुभयो। सडक अवरोधका कारण रारा आउने पर्यटकको सङ्ख्यामा समेत कमी आएको स्थानीयको भनाइ छ।
