गोरखा। गोरखा जिल्लाका विभिन्न क्षेत्रमा धानबालीमा जिंक तत्त्वको कमीका कारण ब्लास्ट रोगको प्रकोप देखिएको छ ।
कृषि विकास कार्यालय गोरखाका प्रमुख कुलप्रसाद तिवारीका अनुसार पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका फाँटहरूमा लगाइएको धानबालीमा ब्लास्ट रोग र ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको हो ।
कार्यालयका सूचना अधिकारी सुमन भट्टराईले जिंकको कमी पूर्ति गर्न एक लिटर पानीमा पाँच ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानहरूलाई सुझाव दिएका छन् । प्राविधिकहरूले धान रोप्नुअघि खेतको अन्तिम तयारीका क्रममा प्रतिरोपनी १ देखि १.१५ किलोग्राम जिंक सल्फेट माटोमा प्रयोग गर्न सिफारिस गरेका छन् । साथै, पर्याप्त कम्पोस्ट वा गोबर मलको प्रयोगले पनि माटोमा जिंकको उपलब्धता बढाउन सहयोग पुग्ने बताइएको छ ।
कृषि विकास कार्यालयले धानखेतमा लामो समयसम्म पानी जमिरहँदा जिंकको उपलब्धता घट्न सक्ने भएकाले सम्भव भएसम्म केही समय पानी सुकाएर पुनः सिँचाइ गर्न किसानलाई आग्रह गरेको छ । कृषि अधिकृत विवेक पौडेलका अनुसार ब्लास्ट रोगबाट जोगाउन नाइट्रोजनयुक्त मल एकैपटक धेरै प्रयोग नगरी सिफारिसअनुसार भाग-भागमा प्रयोग गर्नुपर्छ ।
किसानहरूलाई धान रोप्दा धेरै बाक्लो नरोप्ने, रोगका लक्षण देखिएका बिरुवा हटाएर नष्ट गर्ने र आवश्यकताअनुसार विषादी प्रयोग गर्न भनिएको छ ।
खेतमा समस्या देखिएमा कृषि प्राविधिकसँग परामर्श गरी रोगको सही पहिचानपछि मात्र औषधी प्रयोग गर्न कार्यालयले जोड दिएको छ । समयमै नियन्त्रणका उपाय अवलम्बन नगरे धानबालीमा संक्रमण थप फैलिन सक्ने कार्यालयले जनाएको छ ।
सिरानचोक गाउँपालिका-४ का किसान प्रकाश कुमालले ब्लास्ट रोगले पाक्ने बेलाको धानमा ठुलो क्षति हुनसक्ने भन्दै प्राविधिकहरूलाई खेतमै बोलाइएको जानकारी दिए ।
