काठमाडौं। संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि काठमाडौं उपत्यकामा २८ वटा रात्रिकालीन बस सञ्चालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बुधबार बसेको बैठकले ६ वटा विस्तारित रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
योजनाअनुसार गोदावरी-बुढानीलकण्ठ र जगाती-रत्नपार्क-ठमेल रुटमा ६-६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल-नागढुङ्गा र कीर्तिपुर-नयाँ सडकमा ४-४ वटा तथा चक्रपथमा दुईतर्फी ८ वटा बस सञ्चालन हुनेछन्। रात्रिकालीन यात्राका लागि अधिकतम भाडा ८० रुपैयाँ तोकिएको छ। चक्रपथमा नियमित सेवा सञ्चालन भएपछि यात्रुले एक ठाउँमा बस परिवर्तन गरी तोकिएका विभिन्न गन्तव्यसम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ।
काठमाडौं र ललितपुर महानगरपालिका तथा चन्द्रागिरी र बुढानीलकण्ठ नगरपालिकाले गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका थिए। तीन महिनाको परीक्षणपछि विज्ञ कार्यदलको सुझावका आधारमा स्थानीय तहको वित्तीय साझेदारीमा सेवालाई निरन्तरता दिने निर्णय गरिएको हो। बैठकले रात्रिकालीन बस सेवाका लागि रुट परमिट प्रक्रिया सहज बनाउन यातायातसम्बन्धी कानुन संशोधन गर्न सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
