काठमाडौँ। खाना पकाउने ग्यासको चरम अभावका कारण विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदुर सबैभन्दा बढी प्रभावित भएका छन्।
एउटा मात्र सिलिन्डर भएका उपभोक्ताहरू ग्यास सकिनेबित्तिकै अर्को भर्न नसक्दा समस्यामा परेका हुन्। अनामनगरमा बस्दै आएका शङ्करदेव क्याम्पसका विद्यार्थी कमल शाहीको भान्सामा एक महिनादेखि खाना पाक्न सकेको छैन।
साउन महिनामै ग्यास सकिएपछि होटलको खानामा निर्भर रहनुभएका शाहीले बुधबारदेखि होटलमा समेत ग्यास अभाव भएको खबर पाएपछि थप समस्यामा परेको गुनासो गरे। उनले भने, जुनसुकै ग्याससँग साट्न पाइने भनिए पनि कालीमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन पुग्दा ग्यास पाउने आशा मरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको गुनासो शाखामा हाल ग्यास नपाएको गुनासो बढेको छ। विभागका गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेहरूमा अधिकांश दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजदुर रहेका छन्।
विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन आग्रह गरे पनि सम्बोधन प्रभावकारी हुन सकेको छैन।
विभागका निर्देशक अनिल किराँतीले ग्यास अभावको समस्या समाधानका लागि मन्त्रीस्तरबाटै पहल भइरहेको भए पनि आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण माग र आपूर्ति सन्तुलन बिग्रिएको बताए।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सचिव सुदीप घिमिरेका अनुसार भोटेकोशीमा आएको बाढीका कारण काठमाडौँ जोड्ने प्रमुख राजमार्ग अवरुद्ध हुँदा ग्यास आपूर्तिमा थप जटिलता उत्पन्न भएको छ।
उद्योगीहरूले भने प्राथमिकतामा परेका उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास भइरहेको दाबी गरेका छन्।
