काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले उपभोक्ताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको अवस्थामा समितिमा बसिरहनुको औचित्य नभएको बताएका हुन्।
सांसद भण्डारीले आम जनताले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको गम्भीर अवस्थाप्रति ध्यानाकर्षण गराएका छन्। उनले भने, अहिले देशमा जनताले खाना पकाउने ग्यास पाउन सकेका छैनन्। जनता यतिसम्मको सास्ती भोगिरहेका छन्, तर यस्तो अवस्थामा पनि उपभोक्ताको हित हेर्ने संसदीय समितिमा रहेर काम गर्न सक्ने नैतिकता मैले पाइनँ।
उनले उपभोक्ता हितसँग प्रत्यक्ष जोडिएको विषयमा सरकार र सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन्। जनताले सास्ती भोग्नुपरेको र यस्तो अवस्थामा प्रभावकारी कदम चाल्न नसक्ने समितिमा बस्नुभन्दा अलग हुनु नै उपयुक्त रहेको उनको भनाइ छ।
