काठमाडौँ। संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय (यूएनओपीएस) ले रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र यूएनओपीएसका एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक सारा नेट्जरबीच बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त भएको हो।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको यूएनओपीएसको प्राविधिक टोलीले मन्त्री लम्सालसँग पुनर्निर्माणका विषयमा छलफल गरेको थियो।
मन्त्री लम्सालले भदौ १० गतेको बाढीले पुर्याएको क्षति र सरकारले गरिरहेको उद्धार तथा पुनर्स्थापनाका कामबारे जानकारी गराएका थिए। उनले जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै क्षतिग्रस्त त्रिशूलीलगायतका क्षेत्रमा खानेपानी, अस्थायी आवास र अन्य अत्यावश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको बताए।
क्षेत्रीय निर्देशक नेट्जरले नेपालको एकीकृत विकासका लागि संस्थागत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यूएनओपीएसको प्राविधिक विशेषज्ञतालाई नेपालको पुनर्निर्माण योजनासँग जोड्ने बताए।
उनले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने खानेपानी, भवन र पुल निर्माणका लागि सहयोग गर्न संस्था तयार रहेको स्पष्ट पारे। छलफलमा यूएनओपीएसका नेपाल प्रतिनिधि अलेक्जान्ड्रा राडेटिक, दक्षिण एसिया बहुदेशीय निर्देशक चार्ल्स क्यालन र वरिष्ठ पूर्वाधार सल्लाहकार रिको वालेन्टा लगायतको सहभागिता थियो।
