काठमाडौं। रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ सदरमुकाम धादिङबेँसीसँगको सडक सम्पर्क १६ दिनदेखि टुटेको छ। बाढीले धादिङबेँसी जोड्ने फुर्केखोला पुल बगाएपछि जिल्लाको उत्तरी भेगका बासिन्दाको आवतजावत प्रभावित भएको छ।
२०५६ सालमा निर्माण गरिएको १ सय १८ मिटर लम्बाइको उक्त स्टिल प्लेट गर्डर पुल बगाउँदा पृथ्वी राजमार्ग र मलेखु बजारसँगको मुख्य सम्पर्क टुटेको हो। पुल बगे पनि नजिकै रहेको सहिद गेट भने सुरक्षित रहेको छ। नदी किनारका घरटहरा भने कटानका कारण जोखिममा परेका छन्।
यातायातका लागि हाल वैकल्पिक मार्गहरूको प्रयोग भइरहेको छ। साना तथा मालवाहक सवारी साधनहरू धादिङको मासटार, गोरखा हुँदै आवतजावत गरिरहेका छन्। पृथ्वी राजमार्गबाट मासटार-केउरेनी-पिपलटार-परेवाटार हुँदै धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा छ।
मालवाहक सवारीका लागि मुग्लिन-आँबुखैरेनी-गोरखा-आरुघाट-सल्यानटार हुँदै धादिङबेँसी पुग्ने लामो मार्ग प्रयोग भइरहेको छ। त्यस्तै, धादिङबेँसीबाट काठमाडौं आवतजावतका लागि सुनौलाबजार-फोस्रेटार-कल्लेरीटार हुँदै गल्छी पुग्ने सडक प्रयोग गर्न सकिने अवस्था छ। यद्यपि, केही स्थानमा सडक कच्ची र हिलो भएकाले यात्रा सहज छैन।
