काठमाडौं। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायलाई दिइएको छ। निवर्तमान अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले हिमालयन बैंकको सञ्चालक समिति अध्यक्ष पदबाट राजीनामा दिएपछि सिबिफिनको अध्यक्ष पद रिक्त रहेको थियो।
भदौ २५ गते बसेको सिबिफिन कार्यसमितिको बैठकले आगामी वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन नभएसम्मका लागि उपाध्यायलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिने सर्वसम्मत निर्णय गरेको हो।
उपाध्याय महालक्ष्मी विकास बैंकका अध्यक्ष हुन्। उनी विगत २५ वर्षदेखि नेपालको बैंकिङ, बिमा र वित्तीय सेवा क्षेत्रमा सक्रिय रहँदै आएका छन्। सिबिफिनको स्थापनाकालदेखि नै विभिन्न भूमिकामा रहेर संस्थाको सुदृढीकरणमा योगदान पुर्याएका उपाध्यायको अनुभवले संस्थाको आगामी यात्रालाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
वर्तमान आर्थिक अवस्थामा बैंकिङ क्षेत्रले भोगिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरूको समाधान खोज्न उनको नेतृत्वदायी भूमिका महत्त्वपूर्ण हुने विश्वास लिइएको छ। उपाध्यायको समन्वयकारी र दूरदर्शी नेतृत्वमा सिबिफिनले बैंकिङ क्षेत्रको स्थायित्व, विश्वसनीयता र दिगो विकासका लागि थप प्रभावकारी भूमिका खेल्ने संस्थाले जनाएको छ।
