काठमाडौं। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट परिवारले २२ लाख ५० हजार ६०५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै निस्ट परिवारले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, संस्थाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। निस्ट परिवारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र सुरक्षित पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।
उक्त सहयोग रकम नेसनल स्कुल अफ साइन्सेज लैनचौर, बनेपा निस्ट, भक्तपुर निस्ट, ललितपुर निस्ट, निस्ट हायर एजुकेसन र निस्ट फाउन्डेसनका साथै निस्ट फाउन्डेसनका अध्यक्ष एवम् नेसनल स्कुल अफ साइन्सेजका संस्थापक प्राचार्यको व्यक्तिगत योगदानबाट संकलन गरिएको हो।
निस्ट परिवारले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार र पुनर्स्थापनाका लागि राज्य, विभिन्न संघसंस्था तथा आम नागरिकले मिलेर सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।
