काठमाडौं। धनुषाको हंसपुर नगरपालिका: ५ का ३६५ परिवारले नापजाँच सम्पन्न भएको ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका छन्।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनुषाले आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म पुर्जा वितरण हुन सकेको थिएन। जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।
अब उनीहरूले जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ भने जग्गासम्बन्धी विवाद निरूपण गर्न पनि मद्दत पुग्नेछ। यसअघि धनुषामा ३६०१ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।
