काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीका कारण यातायात क्षेत्रमा १२ अर्ब ९० करोड २५ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बाढीले रसुवागढी भन्सार कार्यालयका भौतिक संरचनामा क्षति पुर्याउनुका साथै सडकमा गुडिरहेका र पार्किङमा रहेका सवारी साधनमा ठुलो विनाश निम्त्याएको छ।
बाढी र गेग्रानको बहावले बगाएका तथा पुरिएका सवारी साधन र यातायात सम्बद्ध सम्पत्तिमा मात्र १२ अर्ब ९० करोड २५ लाख रुपैयाँको प्रत्यक्ष क्षति भएको छ। यो क्षति करिब ८ करोड ५० लाख अमेरिकी डलर बराबर हो। यसका अतिरिक्त सडक सञ्जाल विच्छेद भई यातायात सेवा अवरुद्ध हुँदा ढुवानी र यातायात व्यवसायमा थप ३१ करोड ४५ लाख रुपैयाँको आर्थिक नोक्सानी भएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण यस क्षेत्रका कम्तीमा ८७ वटा यातायात प्रतिष्ठान र व्यवसायहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। चीनबाट आयात गरिएका विद्युतीय सामग्री, सवारी साधन, तयारी पोसाक, जुत्ता-चप्पल र औद्योगिक उपकरण बोकेका थुप्रै मालवाहक ट्रक तथा कन्टेनरहरू बाढीको लेदोमा पुरिएका छन्। गल्छी-बेत्रावती-स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डमा भएको यो क्षतिले व्यापारिक ढुवानीमा समेत गम्भीर असर पारेको छ।
