udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

ताइवान : भूकम्पको धक्काबाट प्रविधि शक्तिसम्म

विनाशकारी भूकम्पपछि पूर्वाधार, प्रविधि, उत्पादन प्रणाली र विपद् तयारीमा सुधार गर्दै ताइवानले औद्योगिक क्षमतालाई विश्वकै शक्तिशाली बनायो।

ताइवान : भूकम्पको धक्काबाट प्रविधि शक्तिसम्म
ताइवानको प्रविधि शक्ति : विपत्तिपछिको पुनर्निर्माणबाट विश्वस्तरीय उद्योगसम्म। फोटो: TSMC Fab 5, Hsinchu Science Park, Taiwan
A A+ A-

सन् १९९९ सेप्टेम्बर २१ को रात ताइवानका लागि एउटा सामान्य रात थिएन।

स्थानीय समयअनुसार बिहान १ बजेर ४७ मिनेटमा आएको ७.३ तीव्रताको शक्तिशाली भूकम्पले मध्य ताइवानलाई केही सेकेन्डमै तहसनहस बनायो।

हजारौँ घरमा क्षति पुग्यो, कैयौँ भवन भत्किए, पुल तथा सडक संरचना क्षतिग्रस्त भए, विद्युत् र सञ्चार सेवामा अवरोध आयो तथा उद्योगहरूको उत्पादन प्रणालीमा समेत गम्भीर असर पर्‍यो।

पहाडी क्षेत्रमा पहिरो खस्यो, यातायातका महत्वपूर्ण मार्ग अवरुद्ध भए र प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउनसमेत कठिन भयो।

त्यो भूकम्पले ताइवानको भौतिक संरचनामा मात्र क्षति पुर्‍याएन, तीव्र औद्योगिकीकरण र निर्यातमुखी अर्थतन्त्र निर्माण गरिरहेको मुलुकको आर्थिक प्रणाली प्राकृतिक विपत्तिको ठूलो धक्कासामु कति संवेदनशील छ भन्ने कठोर वास्तविकता पनि उजागर गरिदियो।

ताइवानका सरकारी अभिलेखअनुसार उक्त भूकम्पमा २ हजार ४ सय ५५ जनाको ज्यान गएको थियो भने ११ हजार ३ सय ५ जना घाइते भएका थिए।

हजारौँ घर पूर्णरूपमा ढले र त्यसभन्दा धेरै घर आंशिक रूपमा क्षतिग्रस्त भए। आर्थिक क्षति ३६० अर्ब नयाँ ताइवानी डलरभन्दा बढी पुगेको सरकारी अभिलेखमा उल्लेख छ।

क्षतिको मात्रा केवल घर र सार्वजनिक संरचनामा सीमित थिएन, कृषि, यातायात, ऊर्जा, उद्योग, सञ्चार तथा स्थानीय अर्थतन्त्रका विभिन्न तहमा त्यसको असर परेको थियो।

त्यसैले ताइवानका लागि ९२१ भूकम्प एउटा प्राकृतिक विपत्ति मात्र रहेन, राज्यको पुनर्निर्माण क्षमता, वित्तीय प्रणाली, पूर्वाधारको गुणस्तर र औद्योगिक निरन्तरताको कठोर परीक्षा बन्न पुग्यो।

तर यही विपत्तिपछि ताइवानले अपनाएको बाटो महत्वपूर्ण छ। उसले भत्किएका घर र सडकलाई पहिलेकै अवस्थामा फर्काउने काममा मात्र पुनर्निर्माण सीमित गरेन।

विपत्तिले उजागर गरेका कमजोरीलाई पहिचान गर्दै कानुनी संरचना, वित्तीय व्यवस्था, सार्वजनिक पूर्वाधार, कृषि प्रणाली, आवास, औद्योगिक संरचना र विपद् व्यवस्थापनलाई एकैपटक सुधार गर्ने प्रयास गर्‍यो।

यही कारण ९२१ भूकम्पलाई ताइवानको आर्थिक इतिहासमा केवल विनाशको घटना होइन, संस्थागत सुधार र विपद् प्रतिरोधी विकासतर्फको महत्वपूर्ण मोडका रूपमा पनि हेर्न सकिन्छ।

९२१ को त्यो विनाशकारी रात

९२१ भूकम्पको केन्द्र मध्य ताइवानको चिची क्षेत्रनजिक थियो।

भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यसले केही स्थानमा जमिनको स्वरूप नै परिवर्तन गरिदियो। भवनका संरचनात्मक कमजोरीहरू उजागर भए, सडक र पुलमा क्षति पुग्यो तथा पहाडी क्षेत्रमा ठूलो मात्रामा पहिरो गयो।

भूकम्पपछि प्रभावित क्षेत्रका लागि उद्धार, राहत र पुनःस्थापनाको काम एकैपटक अघि बढाउनुपर्ने अवस्था आयो।

ताइवानको भौगोलिक बनोट, पहाडी क्षेत्रको ठूलो हिस्सा र घना बस्तीका कारण क्षतिग्रस्त क्षेत्रमा पहुँच पुर्‍याउनु पनि आफैँमा ठूलो चुनौती थियो।

भूकम्पको प्रारम्भिक क्षति मूल्याङ्कनले ताइवानको आर्थिक प्रणाली कति व्यापक रूपमा प्रभावित भएको थियो भन्ने देखायो।

कृषि क्षेत्रमा मात्र करिब २३ अर्ब ६४ करोड नयाँ ताइवानी डलर बराबरको क्षति भएको सरकारी कृषि अभिलेखमा उल्लेख छ।

करिब २ हजार ५ सय हेक्टर कृषि भूमि विस्थापित, पुरिएको वा क्षतिग्रस्त भएको थियो भने जलाशय, सिँचाइ संरचना, कृषि उत्पादन केन्द्र, पशुपालन संरचना र कृषि सडकमा समेत ठूलो क्षति पुगेको थियो।

कृषकको उत्पादन मात्र नष्ट भएको थिएन, उत्पादन बजारसम्म पुर्‍याउने यातायात र भण्डारण संरचना पनि प्रभावित भएका कारण किसानको आम्दानी पुनःस्थापित गर्न थप चुनौती थियो।

राज्यले प्रारम्भिक राहतलाई उद्धारमै सीमित नगरी पुनर्निर्माणको स्पष्ट ढाँचातर्फ अघि बढायो।

राष्ट्रपति कार्यालयबाट आपत्कालीन आदेश जारी भयो र त्यसपछि पुनर्निर्माणलाई विशेष कानुनी तथा वित्तीय संरचनामार्फत सञ्चालन गर्ने प्रक्रिया अघि बढ्यो।

यसले सरकारी निकायलाई नियमित प्रशासनिक प्रक्रियाभन्दा छिटो निर्णय गर्न, स्रोत परिचालन गर्न र पुनर्निर्माणका प्राथमिकता निर्धारण गर्न बाटो खोल्यो।

ताइवानले विपत्तिपछिको पुनर्निर्माणलाई दीर्घकालीन विकास योजनासँग जोड्न खोजेको यही चरणबाट देखिन्छ।

पुनर्निर्माणमा राज्यको ठूलो लगानी

ताइवानले ९२१ भूकम्पपछि पुनर्निर्माणका लागि छुट्टै विशेष बजेटको व्यवस्था गर्‍यो।

पहिलो र दोस्रो चरणका केन्द्रीय सरकारका विशेष पुनर्निर्माण बजेट क्रमशः करिब ७२ अर्ब ७५ करोड ८० लाख र २७ अर्ब २४ करोड १२ लाख नयाँ ताइवानी डलर थिए।

दुवै जोड्दा विशेष पुनर्निर्माण बजेट १०० अर्ब नयाँ ताइवानी डलर पुगेको ताइवानको व्यवस्थापिका अभिलेखमा उल्लेख छ।

यो रकम सामान्य वार्षिक बजेटको सानो थप रकमका रूपमा होइन, भूकम्पपछिको पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउने विशेष वित्तीय संयन्त्रका रूपमा परिचालन गरिएको थियो।

तर राज्यको भूमिका बजेट विनियोजनमा मात्र सीमित रहेन।

ताइवानको केन्द्रीय बैंकले हुलाक बचत तथा अन्य निक्षेपबाट १०० अर्ब नयाँ ताइवानी डलर छुट्याएर बैंकमार्फत प्रभावित परिवारलाई दीर्घकालीन न्यून ब्याज तथा ब्याजरहित ऋण उपलब्ध गराउने व्यवस्था गर्‍यो।

नयाँ घर किन्न, पूर्ण रूपमा क्षतिग्रस्त घर पुनर्निर्माण गर्न वा मर्मत गर्न यस्तो ऋण प्रयोग गर्न सकिने व्यवस्था थियो।

घर पुनर्निर्माण वा खरिदका लागि प्रतिपरिवार अधिकतम ३५ लाख नयाँ ताइवानी डलरसम्म ऋणको व्यवस्था गरिएको थियो, जसमा सुरुको १५ लाखसम्म ब्याज नलाग्ने र बाँकी रकममा निश्चित न्यून ब्याजदरको व्यवस्था थियो।

ऋणको अवधि अधिकतम २० वर्षसम्म राखिएको थियो। यसको आर्थिक अर्थ निकै ठूलो थियो।

विपत्तिपछि घर गुमाएका परिवारसँग पुनर्निर्माणका लागि पर्याप्त नगद नहुन सक्छ, बैंकले जोखिम देखाएर ऋण दिन हिच्किचाउन सक्छ र बजारमा निर्माण सामग्री तथा श्रमको माग बढ्दा लागत पनि बढ्न सक्छ।

यस्तो अवस्थामा राज्यले आफैँ सबै घर बनाइदिनेभन्दा वित्तीय प्रणालीमार्फत प्रभावित परिवारलाई सस्तो ऋण उपलब्ध गराएर पुनर्निर्माणको क्षमता परिवारकै हातमा पुर्‍यायो।

यसले सार्वजनिक स्रोतलाई निजी पुनर्निर्माणसँग जोड्ने एउटा महत्वपूर्ण ढाँचा निर्माण गर्‍यो।

ताइवानले पुनर्निर्माणका लागि विशेष कानुनसमेत निर्माण गर्‍यो। ९२१ भूकम्पपछिको अस्थायी पुनर्निर्माण कानुनी व्यवस्थाले आवास, सार्वजनिक संरचना, समुदाय, कृषि र अन्य क्षेत्रको पुनर्निर्माणलाई संस्थागत आधार प्रदान गर्‍यो।

विशेष बजेट र विशेष कानुनबीचको संयोजनले पुनर्निर्माणलाई तत्कालीन राजनीतिक प्राथमिकतामा राख्न सहयोग गर्‍यो। यही कारण विपत्तिपछि पुनर्निर्माणको गति केवल स्थानीय निकायको क्षमता वा वार्षिक बजेटको उपलब्धतामा निर्भर रहेन।

यद्यपि ताइवानको पुनर्निर्माण पूर्णरूपमा समस्या रहित थिएन। ताइवानको व्यवस्थापिका तथा सरकारी मूल्याङ्कनमा विशेष बजेटको कार्यान्वयन, केही ऋण कार्यक्रम र विभिन्न निकायबीचको समन्वयमा ढिलाइ तथा कमजोरीका विषय पनि उठेका थिए।

तर महत्वपूर्ण पक्ष के हो भने कमजोरी देखिएपछि त्यसलाई अभिलेखमा राखेर सुधारको आधार बनाइयो। सफल पुनर्निर्माणको अर्थ गल्ती नै नहुनु होइन, गल्तीलाई प्रणाली सुधारको आधार बनाउनु पनि हो।

घर मात्र होइन, उत्पादन प्रणाली पनि उठाइयो

विपत्तिपछि अर्थतन्त्र पुनर्जीवित गर्न घर पुनर्निर्माण पर्याप्त हुँदैन। परिवार सुरक्षित भए पनि उनीहरूको रोजगारी, खेत, कारखाना, बजार र यातायात प्रणाली पुनः सञ्चालन हुन सकेन भने स्थानीय अर्थतन्त्र लामो समयसम्म कमजोर रहन्छ।

ताइवानले यही पक्षलाई पुनर्निर्माणको महत्वपूर्ण हिस्साका रूपमा लियो।

कृषि क्षेत्रको पुनर्निर्माणमा किसानलाई नगद सहायता र सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेदेखि उत्पादनका साधन, सिँचाइ, कृषि सडक, भण्डारण, प्रशोधन तथा बजार संरचना पुनःस्थापित गर्ने काम अघि बढाइयो।

कृषि क्षेत्रमा ९२१ भूकम्पले उत्पादन र आपूर्ति दुवैलाई प्रभावित गरेको थियो।

खेत क्षतिग्रस्त भएपछि उत्पादन घट्यो, पहिरो र सडक अवरोधका कारण उत्पादित वस्तु बजारसम्म पुग्न कठिन भयो र कृषि पूर्वाधारमा क्षति पुगेपछि अर्को मौसमको उत्पादनसमेत जोखिममा परेको थियो।

त्यसैले सरकारले कृषकलाई पुनःखेतीमा फर्काउने, उत्पादन सुविधा पुनर्निर्माण गर्ने, कृषि सडक खोल्ने र सिँचाइ प्रणाली सुधार्ने कार्यक्रम अघि बढायो।

ताइवानको कृषि मन्त्रालयका अभिलेखअनुसार विपत्तिपछि धेरैजसो कृषि पुनर्निर्माणका तत्कालीन काम पहिलो वर्षभित्रै अघि बढाइएका थिए।

कृषि पुनर्निर्माणलाई अझ अगाडि लैजाँदा ताइवानले पुरानै संरचना हुबहु बनाउने सोचभन्दा उत्पादन प्रणालीलाई सुधार गर्ने सोच अपनायो।

कृषि बस्तीको पुनर्निर्माणमा आवाससँगै सडक, निकास, पहिरो नियन्त्रण, सामुदायिक पूर्वाधार र उत्पादनसँग जोडिएका संरचनालाई समेटियो।

चार वर्षे योजनामा पहिलो वर्ष आवास र विपद् पुनःस्थापनालाई प्राथमिकता दिइयो भने त्यसपछि आधारभूत सार्वजनिक संरचना, ग्रामीण उद्योग, वातावरणीय सुधार र स्थानीय उत्पादन प्रणालीलाई क्रमशः अघि बढाउने योजना बनाइयो।

यस क्रममा कृषि क्षेत्रमा उत्पादन, प्रशोधन, भण्डारण र बिक्रीसम्मका संरचनालाई पुनर्जीवित गरियो।

जलाशय, सिँचाइ पाइप, कृषि उत्पादन केन्द्र, अन्न भण्डारण, सुकाउने केन्द्र, सङ्कलन केन्द्र, चिस्यान गृह, बजार तथा प्रत्यक्ष बिक्री केन्द्रजस्ता संरचना पुनर्निर्माण गरिएको सरकारी अभिलेखमा उल्लेख छ।

यसको उद्देश्य राहत बाँडेर किसानलाई केही समय टिकाउनु मात्र थिएन, उनीहरूलाई पुनः उत्पादन र बजारमा फर्काउनु थियो। यही अन्तरले ताइवानको पुनर्निर्माणलाई केवल राहत कार्यक्रमभन्दा आर्थिक पुनरुत्थानको योजनामा बदल्यो।

सडक र पुलमा पुरानो संरचना दोहोरिएन

भूकम्पले ताइवानको सडक तथा पुल प्रणालीमा गम्भीर क्षति पुर्‍याएपछि पुनर्निर्माणमा एउटा महत्वपूर्ण बहस उठ्यो-भत्किएको संरचना उही ठाउँमा उही डिजाइनमा बनाउने कि नयाँ जोखिम मूल्याङ्कनका आधारमा पुनःनिर्माण गर्ने।

ताइवानको राजमार्ग निकायले क्षतिग्रस्त पुलहरूको पुनर्निर्माण गर्दा यही विषयलाई केन्द्रमा राख्यो।

पुल पुरानै स्थानमा बनाउने कि स्थान परिवर्तन गर्ने, पुललाई थप बलियो बनाउने कि नयाँ संरचनात्मक सुरक्षा प्रणाली अपनाउनेजस्ता विषय पुनर्निर्माणको डिजाइनमै समेटिए।

यसले पुनर्निर्माणको एउटा महत्वपूर्ण अवधारणा स्थापित गर्‍यो-विपत्तिले भत्काएको संरचना पुरानै रूपमा फर्काउनु मात्र पुनर्निर्माण होइन।

भविष्यको विपत्तिमा त्यही संरचना फेरि कमजोर नहोस् भनेर निर्माण मापदण्ड, संरचनात्मक डिजाइन र जोखिम मूल्याङ्कनमा सुधार गर्नुपर्छ।

ताइवानले सडक, पुल, ग्रामीण पूर्वाधार र पहाडी क्षेत्रमा भूक्षय नियन्त्रणलाई पनि पुनर्निर्माणसँग जोड्यो। यसरी भूकम्पपछिको खर्च तत्कालीन क्षति मर्मतमा मात्र नभई भविष्यको जोखिम घटाउने लगानीमा परिणत भयो।

ग्रामीण क्षेत्रमा पनि यही सोच लागू भयो। सरकारी योजनाअनुसार पुनर्निर्माण क्षेत्रमा सडक सुधार, पानी निकास, पहिरो नियन्त्रण, खोलाको व्यवस्थापन, पर्खाल तथा ढलान संरक्षणलगायतका काम अघि बढाइए।

केही योजनामा हजारौँ मिटर सडक, निकास र पहिरो नियन्त्रण संरचना निर्माण तथा सुधार गरिएको अभिलेखमा उल्लेख छ। यसले स्थानीय समुदायलाई सुरक्षित आवागमन मात्र दिएन, उत्पादनलाई बजारसम्म लैजाने आर्थिक आधार पनि बलियो बनायो।

उद्योग बन्द भए, उत्पादन रोकिएन

९२१ भूकम्पको सबैभन्दा रोचक पक्षमध्ये एक ताइवानको औद्योगिक क्षेत्रमा देखिएको प्रतिक्रिया हो।

भूकम्पले औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति, पानी, वातानुकूलन, ग्यास तथा अन्य आधारभूत प्रणालीमा अवरोध ल्यायो।

उच्च प्रविधिका उद्योगका लागि यस्तो अवरोध सामान्य उद्योगको तुलनामा धेरै जोखिमपूर्ण हुन्छ, किनकि उत्पादन प्रक्रिया बीचमै रोकिँदा कच्चा पदार्थ मात्र होइन, निर्माणाधीन उत्पादनसमेत नष्ट हुन सक्छ।

अझ अर्धचालक उद्योगमा उत्पादन उपकरण पुनःसञ्चालन गर्न अत्यन्त सावधानी आवश्यक हुन्छ।

ताइवानको अर्धचालक उद्योग त्यतिबेला नै विश्व बजारमा महत्वपूर्ण स्थान बनाउँदै थियो। त्यसैले भूकम्पपछि उद्योगलाई छिटो सञ्चालनमा ल्याउनु कम्पनीको मात्रै होइन, ताइवानको निर्यात अर्थतन्त्रकै प्राथमिकता बन्यो।

विद्युत् आपूर्ति, पानी, ग्यास, उत्पादन उपकरण र कामदारको समन्वयलाई तीव्र बनाउँदै औद्योगिक गतिविधि पुनः सञ्चालन गर्ने प्रयास भयो। यही क्रममा टीएसएमसीको पुनःउत्थान विश्व औद्योगिक इतिहासमै उदाहरणीय घटना बन्यो।

भूकम्प गएको दशौँ दिन अर्थात् सेप्टेम्बर ३० सम्म टीएसएमसीले आफ्नो अर्धचालक उत्पादनका ९५ प्रतिशत उपकरणलाई उत्पादनमा फर्काइसकेको घोषणा गर्‍यो।

त्यही समयमा उत्पादन प्रक्रियामा रहेका चिपहरूको स्थानान्तरण ९० प्रतिशतभन्दा माथि पुगेको कम्पनीले जनाएको थियो।

कम्पनीले विद्युत् आपूर्तिको स्थिरता र कर्मचारीको निरन्तर प्रयासलाई तीव्र पुनःस्थापनाको मुख्य कारणका रूपमा उल्लेख गरेको थियो।

त्यो पुनःस्थापनाको प्रभाव कम्पनीको आर्थिक परिणाममा पनि देखियो।

सन् १९९९ को तेस्रो त्रैमासिकमा टीएसएमसीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढेर १९ अर्ब ७ करोड नयाँ ताइवानी डलर पुगेको थियो।

उत्पादन क्षमताको उपयोग दर ९६ प्रतिशत पुगेको र कम्पनीका सबै अर्धचालक उत्पादन उपकरण उत्पादनमा फर्किएको कम्पनीको प्रतिवेदनमा उल्लेख छ।

भूकम्पका कारण केही उत्पादनमा क्षति र उत्पादन घटेको भए पनि औद्योगिक प्रणाली लामो समयसम्म ठप्प भएन।

यस घटनाले एउटा गम्भीर आर्थिक पाठ दिएको थियो। आधुनिक उद्योगको शक्ति केवल ठूलो कारखाना, महँगा मेसिन वा दक्ष कामदारमा हुँदैन, संकटपछि कति छिटो उत्पादन पुनःसञ्चालन गर्न सकिन्छ भन्ने क्षमतामा पनि हुन्छ।

टीएसएमसीले भूकम्पपछि गरेको तीव्र पुनःस्थापनाले ताइवानको औद्योगिक अर्थतन्त्रमा उत्पादन निरन्तरताको महत्त्वलाई अझ स्पष्ट बनायो।

प्रविधिलाई विपद् सुरक्षासँग जोडियो

९२१ भूकम्पअघि पनि ताइवानले अर्धचालक, इलेक्ट्रोनिक्स र उच्च प्रविधिका क्षेत्रमा उल्लेखनीय क्षमता निर्माण गरिसकेको थियो। त्यसैले भूकम्पलाई ताइवानलाई प्रविधि शक्ति बनाउने एकमात्र कारणका रूपमा प्रस्तुत गर्नु तथ्यगत रूपमा सही हुँदैन।

ताइवानको प्रविधि उद्योग निर्माणका पछाडि दशकौँको औद्योगिक नीति, शिक्षा, अनुसन्धान, निर्यातमुखी उत्पादन, विज्ञान पार्क, निजी लगानी र सरकारी सहयोगको लामो इतिहास थियो।

तर ९२१ भूकम्पले त्यो औद्योगिक शक्तिको अर्को कमजोर पक्ष उजागर गरिदियो-प्राकृतिक विपत्तिका बेला उच्च प्रविधिको उत्पादन प्रणाली कति सुरक्षित र निरन्तर रहन सक्छ भन्ने प्रश्न।

भूकम्पपछि टीएसएमसीलगायतका उद्योगले भवनको संरचनात्मक सुरक्षा मात्र पर्याप्त नभएको महसुस गरे।

उत्पादन उपकरण, विद्युत् आपूर्ति, पानी, ग्यास, उत्पादन प्रक्रियाको स्थिरता र आकस्मिक प्रतिक्रिया प्रणालीलाई पनि भूकम्पीय जोखिमसँग जोड्नुपर्ने भयो।

पछिल्ला वर्षमा टीएसएमसीले भूकम्पीय सुरक्षा प्रविधि, संरचनात्मक क्षति कम गर्ने उपाय, उपकरण सुरक्षा, आकस्मिक प्रतिक्रिया र उत्पादन निरन्तरतासम्बन्धी क्षमता विस्तार गरेको जनाएको छ।

यसको अर्थ विपद् व्यवस्थापन कारखानाको बाहिरी पर्खाल बलियो बनाउने विषयबाट उत्पादनको सम्पूर्ण प्रणाली सुरक्षित बनाउने विषयमा विस्तार भयो।

सन् २०१६ को ताइवान भूकम्पका अनुभवले पनि यो सुधारको महत्त्व देखायो।

टीएसएमसीका अनुसार पछिल्ला भूकम्पीय घटनामा उसका उत्पादन केन्द्रमा संरचनात्मक क्षति, रासायनिक चुहावट, उत्पादन उपकरणको गम्भीर विस्थापन, आगलागी वा ठूलो मानवीय क्षति रोक्न विकसित सुरक्षा प्रणालीले महत्वपूर्ण भूमिका खेले।

१९९९ को अनुभवपछि सिकेका पाठलाई संस्थागत रूपमा अगाडि बढाइएको यही कारण हो। यसले विपत्तिपछि सिकाइलाई केवल सरकारी प्रतिवेदनमा सीमित नगरी निजी उद्योगको सञ्चालन प्रणालीमै समेट्न सकिन्छ भन्ने देखाउँछ।

भूकम्पपछि बदलिएको औद्योगिक सोच

ताइवानको पुनर्निर्माणको अर्को महत्वपूर्ण पक्ष भनेको विपत्तिलाई औद्योगिक नीतिसँग जोड्नु हो।

घर पुनर्निर्माण र सडक मर्मत सकिएपछि काम सकियो भन्ने सोचभन्दा बाहिर गएर ताइवानले प्रभावित क्षेत्रमा कृषि, ग्रामीण उद्योग, पर्यटन र स्थानीय उत्पादनलाई पुनर्जीवित गर्ने योजना अघि बढायो।

कृषि मन्त्रालयका योजनामा परम्परागत उत्पादनलाई उन्नत बनाउने, स्थानीय विशेषता भएका उद्योगलाई विस्तार गर्ने, पर्यटनसँग कृषि उत्पादन जोड्ने र स्थानीय उत्पादनको बजार विस्तार गर्ने कार्यक्रम समेटिएका थिए।

ग्रामीण पुनर्निर्माणमा स्थानीय मानिसलाई नै सहभागी गराउने अभ्यास पनि महत्वपूर्ण थियो। पुनर्निर्माणका केही योजनामा स्थानीय जनशक्तिलाई काममा लगाएर आफ्नै बस्ती, सडक तथा सार्वजनिक संरचना सुधार गर्ने कार्यक्रम सञ्चालन गरियो।

यसले एकातिर रोजगारी सिर्जना गर्‍यो भने अर्कोतिर स्थानीय समुदायमा पुनर्निर्माणप्रति स्वामित्वको भावना बढायो। सरकारी अभिलेखअनुसार केही ग्रामीण पुनर्निर्माण कार्यक्रममार्फत हजारौँ श्रमदिन स्थानीय मानिसको सहभागिताबाट सिर्जना गरिएको थियो।

यसरी ताइवानले पुनर्निर्माणलाई तीन तहमा अघि बढायो।

पहिलो तहमा मानिसको जीवन र आवास सुरक्षित गर्ने काम भयो, दोस्रो तहमा सडक, पानी, सिँचाइ, पुल तथा सार्वजनिक संरचना पुनःस्थापित गरिए र तेस्रो तहमा उत्पादन, रोजगारी, बजार तथा स्थानीय उद्योगलाई पुनर्जीवित गर्ने काम अघि बढाइयो।

यही कारण पुनर्निर्माणले अर्थतन्त्रलाई केवल पुरानो अवस्थामा फर्काउने काम गरेन, नयाँ आर्थिक गतिविधिका लागि आधारसमेत तयार गर्‍यो।

अर्धचालकबाट विश्व बजारसम्म

ताइवानको विश्वव्यापी आर्थिक शक्ति निर्माणको केन्द्रमा पछि अर्धचालक उद्योग अझ शक्तिशाली बन्दै गयो। तर यसको आधार ९२१ भूकम्पभन्दा धेरै पहिले निर्माण भइसकेको थियो।

सरकारले उच्च शिक्षित जनशक्ति तयार गर्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने, विज्ञान तथा औद्योगिक पार्क स्थापना गर्ने र निजी उद्योगलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दीर्घकालीन नीति अघि बढाएको थियो।

यही आधारमा टीएसएमसीजस्ता कम्पनीले विश्वका ठूला प्रविधि कम्पनीका लागि अर्धचालक उत्पादन गर्ने क्षमता विस्तार गरे।

९२१ भूकम्पले भने यो उद्योगलाई एउटा अतिरिक्त पाठ दियो-विश्व बजारमा प्रतिस्पर्धा गर्न उत्पादन क्षमता मात्र पर्याप्त हुँदैन, संकटको अवस्थामा उत्पादन निरन्तर राख्ने क्षमता पनि आवश्यक हुन्छ।

विश्वका ठूला प्रविधि कम्पनीहरू ताइवानको अर्धचालक उत्पादनमा निर्भर हुँदै गएपछि प्राकृतिक विपत्तिको जोखिमलाई व्यवस्थापन गर्नु कम्पनीको आन्तरिक विषय मात्र रहेन, अन्तर्राष्ट्रिय आपूर्ति शृंखलासँग जोडिएको विषय बन्यो।

त्यसैले उत्पादन केन्द्रको सुरक्षा, विद्युत् तथा पानीको स्थिरता, उपकरणको भूकम्पीय सुरक्षा र आकस्मिक प्रतिक्रिया प्रणालीमा लगानी बढ्दै गयो।

आज ताइवान विश्वको अर्धचालक उद्योगको अत्यन्त महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुनुका पछाडि दशकौँको औद्योगिक विकास, अनुसन्धान र निजी लगानीको योगदान छ।

९२१ भूकम्पले त्यस यात्राको सुरुआत गरेको होइन, तर त्यस यात्रामा एउटा महत्वपूर्ण मोड अवश्य थप्यो। विपत्तिले ताइवानलाई औद्योगिक शक्ति हुनु र विपत्तिप्रति प्रतिरोधी औद्योगिक शक्ति हुनुबीचको फरक बुझायो।

यसलाई अर्को ढंगले हेर्दा ताइवानको वास्तविक उपलब्धि भूकम्पपछि कति पैसा खर्च भयो भन्ने मात्र होइन, खर्च भएको पैसाले कस्तो नयाँ क्षमता निर्माण गर्‍यो भन्नेमा छ।

यदि ३६० अर्बभन्दा बढी नयाँ ताइवानी डलरको आर्थिक क्षतिपछि उही कमजोर संरचना फेरि बनाइएको भए भूकम्पको आर्थिक असर दोहोरिन सक्थ्यो।

तर पूर्वाधार, वित्त, उद्योग, कृषि र विपद् व्यवस्थापनमा सुधार गर्दै पुनर्निर्माणलाई भविष्यको जोखिम घटाउने लगानीमा बदलियो।

पुनर्निर्माणबाट विपद् प्रतिरोधी अर्थतन्त्रसम्म

ताइवानको अनुभवमा पुनर्निर्माण एउटा निश्चित समयको सरकारी परियोजना बनेर रोकिएन। भूकम्पपछि विकास भएका संस्थागत संरचना, वित्तीय उपकरण, निर्माण मापदण्ड र औद्योगिक सुरक्षा अभ्यासले पछिल्ला वर्षमा पनि काम गरे।

सडक र पुल निर्माणमा जोखिम मूल्याङ्कन, ग्रामीण क्षेत्रमा पहिरो तथा भूक्षय नियन्त्रण, घर निर्माणमा सुरक्षा, उद्योगमा आकस्मिक प्रतिक्रिया र उच्च प्रविधि उद्योगमा उत्पादन निरन्तरताजस्ता विषयलाई दीर्घकालीन विकासको हिस्साका रूपमा लिन थालियो।

कृषि क्षेत्रमा पनि पुनर्निर्माणपछि उत्पादनलाई आधुनिक बनाउने र बजारसँग जोड्ने प्रयास भयो।

ताइवानको कृषि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा कृषि पर्यटन मार्ग, चिया, बाँस, फूललगायत स्थानीय उत्पादनसँग जोडिएका कार्यक्रम तथा स्थानीय उद्योग प्रवर्द्धनका योजना अघि बढाएको थियो।

यसले विपत्तिबाट प्रभावित क्षेत्रलाई केवल सहायता पाउने क्षेत्रका रूपमा नराखी नयाँ आर्थिक गतिविधि विकास गर्ने क्षेत्रका रूपमा हेर्ने दृष्टिकोण स्थापित गर्‍यो।

ग्रामीण क्षेत्रमा पुनर्निर्माणको अर्को पक्ष वातावरणीय सुरक्षा थियो।

भूकम्पले पहाड र जमिनमा पारेको असरलाई केवल तत्कालीन पहिरो हटाएर समाप्त गर्नेभन्दा स्रोत क्षेत्रमा पहिरो नियन्त्रण, वन तथा माटो संरक्षण र पानीको बहाव व्यवस्थापनका कार्यक्रम अघि बढाइए।

यसको उद्देश्य दोस्रो विपत्तिको जोखिम घटाउनु थियो। यसले प्राकृतिक विपत्ति र विकास पूर्वाधारलाई छुट्टाछुट्टै विषयका रूपमा होइन, एउटै जोखिम व्यवस्थापन प्रणालीका रूपमा हेर्ने अभ्यासलाई बलियो बनायो।

ताइवानको समृद्धिको वास्तविक आधार

ताइवानको आर्थिक रूपान्तरणलाई केवल ९२१ भूकम्पसँग जोड्नु गलत हुन्छ।

भूकम्प आउनुअघि नै ताइवानले निर्यातमुखी औद्योगिकीकरण, शिक्षा, अनुसन्धान, औद्योगिक नीति र उच्च प्रविधिमा लगानीमार्फत बलियो आधार बनाइसकेको थियो।

त्यसैले आजको ताइवानलाई भूकम्पबाट जन्मिएको प्रविधि शक्ति भन्नुभन्दा, पहिले नै निर्माण भइरहेको औद्योगिक शक्तिलाई भूकम्पपछि थप सुरक्षित, चुस्त र प्रतिरोधी बनाएको अर्थमा बुझ्नु उचित हुन्छ।

यही भिन्नता महत्वपूर्ण छ। कुनै पनि मुलुकलाई प्राकृतिक विपत्तिले धनी बनाउँदैन, तर विपत्तिपछि अपनाइने नीतिले मुलुकको विकासको दिशा बदल्न सक्छ। ताइवानले ९२१ भूकम्पबाट यही अवसर निकाल्यो।

घर भत्किएपछि घर बनायो, सडक भत्किएपछि सडक बनायो, उद्योग रोकिएपछि उद्योग चलायो, तर त्यससँगै किन घर भत्कियो, किन सडक अवरुद्ध भयो, किन उद्योगको उत्पादन रोकियो र अर्को भूकम्पमा यी समस्या कसरी कम गर्न सकिन्छ भन्ने प्रश्नको संस्थागत उत्तर खोज्यो।

यसै कारण ताइवानको पुनर्निर्माणलाई केवल भौतिक पुनर्निर्माणका रूपमा बुझ्न मिल्दैन।

यो वित्तीय पुनर्संरचना, औद्योगिक सुरक्षा, कृषि पुनरुत्थान, सार्वजनिक पूर्वाधार सुधार, कानुनी परिवर्तन र प्रविधिको प्रयोग जोडिएको बहुआयामिक प्रक्रिया थियो।

भूकम्पपछि राज्यले ठूलो वित्तीय स्रोत परिचालन गर्‍यो, बैंकिङ प्रणालीमार्फत प्रभावित परिवारलाई सस्तो ऋण उपलब्ध गरायो, निजी उद्योगलाई उत्पादनमा फर्कन समय र संरचना दियो तथा सार्वजनिक पूर्वाधारलाई नयाँ जोखिमअनुसार पुनर्निर्माण गर्‍यो।

अन्ततः ताइवानले विपत्तिलाई आर्थिक प्रणालीको स्थायित्वसँग जोड्न सिक्यो।

आज कुनै प्राकृतिक विपत्ति आउँदा कारखाना पूर्ण रूपमा बन्द हुने, विद्युत् र पानी आपूर्ति लामो समय अवरुद्ध हुने, उत्पादन बजारसम्म पुग्न नसक्ने वा वित्तीय प्रणालीबाट पुनर्निर्माणका लागि स्रोत जुटाउन नसक्ने जोखिम घटाउन उसले वर्षौँ लगानी गरेको छ।

यसको प्रतिफल केवल एउटा भूकम्पमा देखिने होइन, हरेक नयाँ विपत्तिमा देखिने संस्थागत क्षमता हो।

नेपालले सिक्नुपर्ने ताइवानी पाठ

नेपालका लागि ताइवानको अनुभव अझ सान्दर्भिक छ। नेपाल पनि भूकम्प, बाढी, पहिरो, डुबान र अन्य प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको मुलुक हो।

तर नेपालमा विपत्तिपछि पुनर्निर्माण प्रायः घर, विद्यालय, सडक र सरकारी भवन पुनःनिर्माणको सीमामा केन्द्रित हुन्छ।

मानिसको घर बनाइदिएपछि पुनर्निर्माण सकिएको मानिन्छ, तर रोजगारी, उद्योग, कृषि उत्पादन, बजार, बीमा, वित्तीय प्रणाली र स्थानीय अर्थतन्त्र कसरी पुनर्जीवित गर्ने भन्ने पक्ष धेरैपटक पछाडि पर्छ।

ताइवानको अनुभवले यही दृष्टिकोण परिवर्तन गर्नुपर्ने देखाउँछ।

पहिलो पाठ हो-विपत्तिका लागि छुट्टै वित्तीय तयारी।

ताइवानले ९२१ भूकम्पपछि १०० अर्ब नयाँ ताइवानी डलरको विशेष पुनर्निर्माण बजेट बनायो र केन्द्रीय बैंकमार्फत थप १०० अर्ब नयाँ ताइवानी डलर बराबरको सहुलियतपूर्ण आवास ऋण व्यवस्था गर्‍यो।

यसको अर्थ विपत्ति आएपछि पैसा खोज्ने होइन, विपत्ति आएपछि तुरुन्त परिचालन गर्न सकिने वित्तीय संयन्त्र पहिले नै तयार राख्नु हो।

नेपालमा पनि विपद् पुनर्निर्माण कोष, बीमा, पुनर्बीमा, सहुलियतपूर्ण ऋण र निजी क्षेत्रको लगानीलाई जोडेर यस्तो संरचना विकास गर्न सकिन्छ।

दोस्रो पाठ हो-पूर्वाधार पुनर्निर्माणमा भविष्यको जोखिम जोड्नु।

भत्किएको पुल फेरि त्यही डिजाइनमा बनाउने, पहिरो गएको ठाउँमा उही कमजोर सडक बनाउने वा बाढीले बगाएको संरचना फेरि जोखिमयुक्त ठाउँमा बनाउने हो भने सरकारी पैसा पटकपटक खर्च हुन्छ।

ताइवानले पुल र सडक पुनर्निर्माणमा स्थान, डिजाइन, संरचनात्मक सुरक्षा र भविष्यको जोखिमलाई पुनःमूल्याङ्कन गरेको थियो। नेपालले पनि प्रत्येक ठूलो पुनर्निर्माणलाई भविष्यको जोखिम घटाउने अवसरका रूपमा लिनुपर्छ।

तेस्रो पाठ हो-उत्पादन प्रणालीलाई केन्द्रमा राख्नु।

भूकम्पपछि किसानको घर बनाइदिएर मात्र ताइवान रोकिएन। खेत, सिँचाइ, कृषि सडक, भण्डारण, उत्पादन केन्द्र, बजार र ऋणसम्मको शृंखला पुनःस्थापित गरियो।

नेपालमा पनि विपत्तिपछि प्रभावित किसान, उद्योगी, व्यवसायी र साना उद्यमीलाई उत्पादनमा फर्काउने छुट्टै कार्यक्रम आवश्यक छ। राहतले मानिसलाई केही समय बाँच्न सहयोग गर्छ, तर उत्पादनले उनीहरूलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउँछ।

चौथो पाठ निजी क्षेत्रसँग जोडिएको छ। ताइवानको उच्च प्रविधि उद्योगले भूकम्पपछि आफूलाई छिटो पुनःसञ्चालन गरेर देखायो कि विपद् व्यवस्थापन केवल सरकारको जिम्मेवारी होइन।

नेपालमा पनि जलविद्युत्, बैंकिङ, दूरसञ्चार, उद्योग, होटल, यातायात, सूचना प्रविधि र उत्पादन क्षेत्रमा संकटपछिको उत्पादन निरन्तरता योजना अनिवार्य बनाउन सकिन्छ।

ठूला उद्योगले आफ्नो भवन र उपकरण मात्र होइन, विद्युत्, पानी, सञ्चार, आपूर्ति शृंखला र कर्मचारी व्यवस्थापनको वैकल्पिक योजना तयार राख्नुपर्छ।

पाँचौँ पाठ स्थानीय समुदायसँग जोडिएको छ। ताइवानले ग्रामीण पुनर्निर्माणमा स्थानीय मानिसलाई सहभागी गरायो र स्थानीय उत्पादन तथा रोजगारीसँग पुनर्निर्माणलाई जोड्यो।

नेपालमा पनि स्थानीय तहलाई केवल योजना कार्यान्वयन गर्ने निकायका रूपमा होइन, जोखिम पहिचान, पुनर्निर्माण, रोजगारी सिर्जना र स्थानीय आर्थिक पुनरुत्थानको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ।

छैटौँ र सबैभन्दा महत्वपूर्ण पाठ भनेको विपत्तिबाट सिक्ने संस्कार हो।

एउटा भूकम्प आएपछि उद्धार गरियो, राहत बाँडियो र संरचना बनाइयो भने तत्कालीन संकट टार्न सकिन्छ।

तर अर्को भूकम्प आउँदा फेरि उही क्षति नहोस् भन्ने गरी नियम, प्रविधि, निर्माण मापदण्ड, वित्तीय व्यवस्था र संस्थागत क्षमता सुधार गरिएन भने पुनर्निर्माण अधुरै रहन्छ। ताइवानले ९२१ भूकम्पपछि यही सिकाइलाई संस्थागत गर्‍यो।

ताइवानको कथा त्यसैले विनाशबाट समृद्धिसम्मको सरल कथा होइन। यो एउटा यस्तो मुलुकको कथा हो जसले प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई राज्य, वित्त, पूर्वाधार, उद्योग, कृषि र प्रविधिको प्रणालीगत सुधारसँग जोड्यो।

भूकम्पले ताइवानको आर्थिक शक्ति निर्माण गरेको होइन, तर भूकम्पपछि ताइवानले आफ्नो औद्योगिक शक्तिलाई अझ सुरक्षित र विश्वसनीय बनाउने बाटो रोज्यो।

आज विश्व अर्थतन्त्रमा ताइवानको स्थान हेर्दा त्यसको पछाडि दशकौँको औद्योगिक विकास, शिक्षा, अनुसन्धान, निजी लगानी र निर्यातमुखी उत्पादनको शक्ति छ। त्यसमा ९२१ भूकम्प एउटा कठोर परीक्षा थियो।

त्यो परीक्षामा ताइवानले केवल क्षति मर्मत गर्ने बाटो रोजेन, भविष्यका विपत्तिसँग जुध्न सक्ने आर्थिक प्रणाली बनाउने बाटो रोज्यो।

यही कारण ताइवानको ९२१ भूकम्पपछिको यात्रा नेपालजस्ता जोखिमयुक्त मुलुकका लागि महत्वपूर्ण छ। विपत्ति रोक्न नसकिएला, तर त्यसको आर्थिक क्षति कति हुन्छ भन्ने कुरा नीति, पूर्वाधार, वित्तीय तयारी, बीमा, उत्पादन निरन्तरता र संस्थागत क्षमताले धेरै हदसम्म निर्धारण गर्छ।

ताइवानको सबैभन्दा ठूलो उपलब्धि यही हो-भूकम्पले भत्काएको संरचना मात्र उठाएन, त्यसबाट भविष्यमा कम क्षति हुने र संकटपछि छिटो उठ्न सक्ने प्रणाली पनि बनायो।

यही प्रणालीगत सोचले विनाशपछिको पुनर्निर्माणलाई दीर्घकालीन औद्योगिक शक्तिमा रूपान्तरण गर्ने आधार तयार गर्‍यो।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action