काठमाडौं। बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार भदौ ३१ गते बिहान ६:०० बजेसम्मको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका सडक खण्डहरू बढी प्रभावित छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा भदौ १६ गतेदेखि विशेष नियम लागू गरिएको छ। अर्को सूचना नभएसम्म साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधन मात्र सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको आधारमा सवारी साधन सुचारु गरिने जनाइएको छ।
रसुवाका मुख्य राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा-छहरे सडक खण्डमा सम्भावित बाढी र पहिरोका कारण भदौ १ गतेदेखि राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। साथै, नुवाकोटको पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभिरमा भदौ १४ गतेदेखि पहिरोले सडक ठप्प छ। सोही राजमार्गका अन्य दुई स्थानमा पहिरो पन्छाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको छ। चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मत भइरहेकाले सवारी चापको आधारमा एकतर्फी रूपमा गाडी सञ्चालन भइरहेका छन्।
कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।
