काठमाडौं। अमेरिकामा कच्चा तेलको मौज्दातमा अप्रत्याशित वृद्धि भएपछि बुधबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ।
रोयटर्सका अनुसार गत हप्ता अमेरिकामा कच्चा तेल, ग्यासोलिन र डिस्टिलेटको मौज्दात बढेको हो। एपीआईको तथ्यांकले पनि ग्यासोलिन र डिजेलको मौज्दातमा भएको वृद्धिकै कारण मूल्यमा दबाब परेको देखाएको छ।
बुधबारको कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स प्रतिब्यारेल ९३ सेन्ट घटेर १०७.८२ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट फ्युचर्स प्रतिब्यारेल ९७ सेन्ट घटेर १०४.८६ डलरमा कायम भएको छ।
मूल्यमा गिरावट आए पनि साउदी अरेबियाको घटनाले भने लगानीकर्ताहरूलाई आपूर्ति जोखिमप्रति चिन्तित बनाएको छ। साउदी अरेबियाले लाल सागरतर्फको पूर्वी-पश्चिमी पाइपलाइनमा भएको आक्रमणपछि आफ्नो यनबु बन्दरगाहमा तेल लोड गर्ने कार्य स्थगित गरेको छ।
यसअघि मङ्गलबार यनबु बन्दरगाहमा तेल लोडिङ रोकिएको खबर र साउदी अरेबियाले युरोपतर्फको तेल ढुवानी कटौती गरेपछि दुवै बेन्चमार्कको मूल्य प्रतिब्यारेल ३ डलरभन्दा बढीले बढेको थियो। उक्त वृद्धिपछि तेलको मूल्य गत मे १९ यताकै उच्च बिन्दुमा पुगेको थियो।
