काठमाडौँ- भारतको मानवीय सहायता संस्था हेल्पएडले भू–उपग्रह तस्बिर विश्लेषणमार्फत बाढी, भारी वर्षालगायत विपद्को पूर्वसूचनामा सहयोग गर्ने सुपर कम्प्युटर नेपाललाई हस्तान्तरण गरेको छ।
सुपर कम्प्युटर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीले ग्रहण गरेका हुन्। यसले भू–उपग्रहबाट प्राप्त तस्बिर तथा तथ्यांक विश्लेषण गरी सम्भावित विपद्को जोखिम पहिचानमा सहयोग गर्ने हेल्पएडले जनाएको छ।
उपकरण खरिदका लागि भारतको क्याथरिन एजुकेसनल इन्स्टिच्युसन्सका विद्यार्थी, शिक्षक तथा कर्मचारीले १ लाख ४० हजार भारतीय रुपैयाँ संकलन गरेका थिए। संस्थाको व्यवस्थापनले थप १ लाख ६० हजार रुपैयाँ सहयोग गरेपछि ३ लाख भारतीय रुपैयाँबाट सुपर कम्प्युटर खरिद गरिएको हो।
प्राधिकरणका संयुक्त सचिव महेशचन्द्र न्यौपाने, उपसचिव रामबहादुर केसी र राजेन्द्र शर्मा, भूगर्भविद् प्रकाश पोखरेल तथा इन्जिनियर जगदीश बिष्टले उपकरण बुझेका थिए।
हेल्पएडले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँगको छलफलपछि दोस्रो चरणमा करिब ४० लाख भारतीय रुपैयाँ बराबरका चिकित्सा उपकरणसहित थप सहायता उपलब्ध गराउने जनाएको छ।
