सुर्खेत। नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज बुधबार बिहान जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाबाट जोगिएको छ।
बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडितर्फको दायाँ चक्का (टायर) फुत्किएर बाहिर निस्किएको हो।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार जहाजमा सात जना विदेशी नागरिक र छ जना नेपाली गरी १३ जना सवार थिए। सवारमध्ये ११ जना पुरुष र दुई जना महिला थिए।
चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र कुनै मानवीय क्षति नभएको राठौरले जानकारी दिए।
घटनापछि जहाज अहिले विमानस्थलको रनवेमै रहेको छ। प्रहरीले जहाज र त्यसमा सवार यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाएको छ।
