काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिकाका चारवटा खाद्य उद्योगमा अनुगमन गरी म्याद नाघेका र अनुमति नलिएका खाद्य पदार्थ जफत गरी नष्ट गरेको छ।
विभागले काठमाडौं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र स्थानीय प्रहरीसँगको समन्वयमा उक्त कारबाही गरेको हो।
अनुगमनका क्रममा ढुंगेअड्डास्थित कृष्ण पुष्कारी तथा गुडपाक भण्डारमा म्याद नाघेका कच्चा पदार्थ प्रयोग भइरहेको पाइएको छ।
टोलीले त्यहाँबाट म्याद नाघेको चकलेट, किरा परेको भुटेको चना, चामलको पिठो र स्किम मिल्क पाउडरसहित करिब ५३५ किलो पुष्कारी र १०० किलो गुडपाक जफत गरेको छ। नष्ट गरिएका सामग्रीको मूल्य करिब २ लाख ६० हजार रुपैयाँ रहेको छ। सो उद्योगलाई सिलबन्दी गरी थप अनुसन्धान थालिएको छ।
त्यस्तै, ढुंगेअड्डाकै बज्रबाराही भण्डारमा सरसफाइको अभाव र अनुमतिबिना उत्पादन गरिएका ३५० किलो खाद्य पदार्थ भेटिएको छ। उक्त उद्योग पनि सिलबन्दी गरिएको छ। स्वयम्भूस्थित सरस्वती बास्केट पसलमा म्याद नाघेको सुजी, ब्रेड क्रम, थाइम र राजमा जफत गरिएको छ। पसल सञ्चालकलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
स्वयम्भूमा रहेको यति आइस प्रालिमा गरिएको अनुगमनमा उद्योगले विभागबाट अनुमति नलिएको तथा मापदण्ड पालना नगरेको पाइएको छ।
विभागले उक्त उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाउँदै थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही अगाडि बढाइएको विभागले जनाएको छ।
