काठमाडौं। बिहीबार बिहानैदेखि देशभर भइरहेको वर्षाका बाबजुद आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
खराब मौसमका कारण काठमाडौंबाट लुक्लाका लागि तय गरिएका चारवटा उडान भने रद्ध गरिएको छ। विमानस्थलका मुख्य एयर ट्राफिक कन्ट्रोलर देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार दिउँसो १२ बजेसम्म विभिन्न गन्तव्यका लागि २५ वटा आन्तरिक उडान सम्पन्न भइसकेका छन्।
पहाडी क्षेत्रका उडानमा विशेष सतर्कता अपनाइएको र तराईतर्फको उडानमा भने कुनै समस्या नरहेको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाको सूचना र विमानस्थलको प्राविधिक अध्ययनका आधारमा वर्षा र हावाको गतिमा केही वृद्धि भए पनि उडानमा ठूलो असर नपरेको श्रेष्ठको भनाइ छ। महाशाखाले शुक्रबार र शनिबार अत्यधिक वर्षा र हावा चल्ने चेतावनी दिए पनि हालको अवस्था कायमै रहे आन्तरिक उडानमा समस्या नआउने उनले जानकारी दिए।
