चितवन। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा खसेको पहिरो र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सडक बन्द गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि आज बिहान ५ बजेसम्म ती राजमार्गमा सवारी आवागमन रोकिएकामा निरन्तर वर्षा भएपछि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेकाले चितवन खण्डमा सवारी आवागमन रोकिएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक रुपमा १० हजारभन्दा बढी र पृथ्वी राजमार्ग हुँदै १४ हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने गरेका छन् ।
