काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फ हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन्।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण यी तीन गन्तव्यतर्फका उडान रोकिएका हुन्। विमानस्थलको हटलाइनबाट प्राप्त जानकारीअनुसार पोखरा, भैरहवा र सिमराबाहेक अन्य आन्तरिक गन्तव्यका उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन्।
कार्यालयका अनुसार हालसम्म अन्य आन्तरिक उडानमा वर्षाका कारण कुनै समस्या देखिएको छैन।
यता, अन्तर्राष्ट्रिय उडान भने सामान्य रूपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका एक अधिकारीका अनुसार अन्तर्राष्ट्रियतर्फको उडानमा हालसम्म वर्षाको प्रभाव परेको छैन।
