धनकुटा। जिल्लामा पछिल्ला दुई वर्षयता दुध उत्पादनमा निरन्तर गिरावट आएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार एक सय १३ मेट्रिक टन दुध उत्पादन भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा १३ हजार तीन सय तीन र गत आर्थिक वर्षमा ११ हजार चार सय ५९ मेट्रिक टनमा झरेको छ ।
केन्द्रकी प्रमुख हिमा कुमारी गौतमका अनुसार कृषकले दुधको भुक्तानी नियमित नपाउँदा यो पेसाबाट विस्थापित हुने क्रम बढेको छ । आर्थिक वर्ष २०८०/०८१ देखि नै दुग्ध विकास संस्थान (डिडिसी) बाट भुक्तानीमा ढिलाइ हुन थालेपछि उत्पादनमा असर परेको हो । भुक्तानी समस्याका अतिरिक्त बसाइँसराइ पनि उत्पादन घट्नुको अर्को कारण रहेको गौतमले बताए । उनले भने, “कृषक पहिले दुधको नियमित भुक्तानी पाउन्जेल राम्रै थियो नियमित भुक्तानी हुन छाडेसँगै यो पेसाबाट विस्थापित हुने क्रम बढ्दै गयो फलस्वरूप उत्पादन घट्न थाल्यो ।”
धनकुटामा उत्पादित दुधको करिब ६० प्रतिशत हिस्सा डिडिसी र निजी डेरीमार्फत जिल्लाबाहिर निकासी हुने गरेको छ भने बाँकी ४० प्रतिशत स्थानीय स्तरमा छुर्पी, घ्यू र चिज बनाउन प्रयोग गरिन्छ । कार्यालयका सूचना अधिकारी दिनेश कार्कीका अनुसार दुग्धजन्य पदार्थको बजार सुनिश्चित नहुँदा उत्पादनमा स्थिरता छैन । छुर्पी उत्पादन आर्थिक वर्ष २०७९/०८० मा दुई सय ८० मेट्रिक टन रहेकोमा पछिल्लो समय दुई सय २१ मेट्रिक टनमा सीमित भएको छ । त्यस्तै, घ्यूको उत्पादन पनि आर्थिक वर्ष २०८१/०८२ को १८.२ मेट्रिक टनबाट घटेर गत वर्ष ८.४ मेट्रिक टनमा पुगेको छ । मागमा हुने उतारचढावले गर्दा उत्पादनमा समेत अस्थिरता देखिएको कार्कीले जानकारी दिनुभयो ।
