काठमाडौं: केही दिनको निरन्तर वर्षा रोकिएपछि सोलुखुम्बुका किसानलाई पाकेको धान काट्ने र भित्र्याउने चटारो सुरु भएको छ। जिल्लाका सल्यान, नेचाको तल्लो क्षेत्र, काँगेल, पञ्चन, जुबु, मुक्ली र देउसाललगायतका स्थानमा किसानहरू अहिले धान थन्क्याउने काममा व्यस्त छन्।
नेचासल्यान-१ का किसान कुमार बस्नेतका अनुसार वर्षाका कारण केही दिन रोकिएको काम अहिले धमाधम भइरहेको छ। उहाँले भन्नुभयो, “समयमै धान नथन्काए असिना पर्न सक्छ र वर्षभरि खाने बाली नष्ट हुन सक्छ।” दसैँ सकिएलगत्तै धान काट्न सुरु गरिए पनि वर्षाले काममा केही ढिलाइ भएको थियो। हाल मौसम अनुकूल भएकाले किसानलाई धान भित्र्याउन सहज भएको छ।
अर्का किसान अशोक कार्कीका अनुसार धान पाक्ने समय एकै परेकाले श्रमिकको अभाव देखिएको छ। धान काट्ने र पराल थन्क्याउने कामसँगै किसानलाई हिउँदे आलु लगाउने चटारो पनि उत्तिकै छ। मौसम जुनसुकै बेला प्रतिकूल हुन सक्ने जोखिमका कारण किसानहरू धान भित्र्याउन हतारिएका हुन्।
यस वर्ष समयमै वर्षा भएको र धानमा रोगको प्रकोप नदेखिएकाले उत्पादन सन्तोषजनक हुने किसानको अनुमान छ। पछिल्ला वर्षहरूमा छिटो रोप्न थालिएकाले केही स्थानमा धान छिट्टै पाकेको छ, तर ढिलो रोपाइँ भएका केही क्षेत्रमा भने धान पाक्न बाँकी नै छ। सोलुखुम्बुमा हाल एक हजार ६२५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ। यहाँ दुधेमार्सी, ताइचिन, मकवानपुरे, दोलाखे र पोखरेलीलगायतका मोटा तथा मसिनो धानका जातहरू लगाउने गरिन्छ।
