दमक। चाडपर्व नजिकिँदै गर्दा झापा प्रशासनले सर्वसाधारणका लागि नुन, चामल र चिनीको आपूर्ति सहज बनाउने तयारी सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा खाद्यवस्तुको पर्याप्त मौज्दात कायम राख्दै सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत झापाका २५ भन्दा बढी विक्रेताबाट थोक रूपमा नुन उपलब्ध गराइनेछ। यसबाट जिल्लाका विभिन्न बजारमा नुनको नियमित आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ। त्यस्तै, चाडपर्वका बेला उपभोक्तालाई राहत दिन चामल, चिनी र नुन सहुलियत मूल्यमा बिक्री गरिनेछ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सहुलियत मूल्य पसलमार्फत जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ, सोना मन्सुली चामल ५७ रुपैयाँ, चिनी ११० रुपैयाँ र नुन २४ रुपैयाँमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ। साथै, प्रशासनले जिल्लाभर अत्यावश्यक खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्न र सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
चाडपर्वमा माग बढ्ने भएकाले कृत्रिम अभाव, कालोबजारी वा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाइनेछ। बैठकमा कृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुख दीपककुमार राजवंशी, साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपाने र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यालय प्रमुख राजबहादुर राईको सहभागिता थियो।
