काठमाडौं: भदौ २६ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पेन्सन पट्टा’ यस वर्षको सर्वाधिक कमाउने तेस्रो फिल्म बनेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार असोज ११ गतेसम्म यस फिल्मले ७ करोड १ लाख ४१ हजार ४०३ रुपैयाँ ग्रस कमाइ गरेको छ।
सो अवधिमा फिल्मका २ लाख ४४ हजार ८४२ टिकट बिक्री भएका छन्। फिल्मको व्यापारिक गतिलाई हेर्दा यसै साता ‘लालीबजार’को ९ करोडको व्यापारलाई पछि पार्ने अनुमान गरिएको छ।
यस वर्ष ‘गौँथली’ २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ कमाइ गर्दै सर्वाधिक कमाउने फिल्म बनेको छ। ‘गौँथली’ नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ। यसअघि ‘गौँथली’ र ‘लालीबजार’ले ७ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेका छन्।
त्यस्तै, ‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले असोज ११ गतेसम्म २ करोड ९६ लाख ३६ हजार ३९४ रुपैयाँ मात्र कमाउन सकेको छ। प्रदर्शनको सुरुवातमा राम्रो देखिए पनि यस फिल्मले ३ करोडको आँकडा पार गर्न सकेको छैन। बोर्डको तथ्याङ्कअनुसार भदौ १२ मा रिलिज भएको ‘पार्वती’ले २ करोड २८ लाख ५५ हजार ७३ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख १३० रुपैयाँ कमाइ गरेका छन्।
यसका साथै असोज २ गते प्रदर्शनमा आएका फिल्महरूमध्ये ‘झिँगेदाउ २’ले १ करोड ३४ लाख ८३ हजार ९२१ रुपैयाँ, ‘कार्की साइँला’ले ५ लाख ७८ हजार ६६० रुपैयाँ र ‘माया बस्छ कि के हो’ले २३ हजार ६६० रुपैयाँ ग्रस कमाइ गरेको विवरणमा उल्लेख छ।
