काठमाडौं: सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरणसहितका विभिन्न प्रस्तावहरू पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ। सोही सभाबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। असार मसान्तसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड रुपैयाँ, कुल निक्षेप २४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।
बैंकका अनुसार हाल निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत र कर्जा-निक्षेप अनुपात ८०.७७ प्रतिशत कायम रहेको छ। सभामा बैंकको आगामी व्यावसायिक योजना र वित्तीय सुदृढीकरणका विषयमा पनि छलफल भएको थियो।
