काठमाडौं: उत्तरी हुम्लामा असोज ९ गतेदेखि लगातार भएको वर्षाका कारण स्याउको स्वाद र गुणस्तरमा कमी आउने भन्दै किसानहरू चिन्तित बनेका छन्। कृषि प्राविधिकहरूका अनुसार स्याउ टिप्ने समय हुनुअघि नै लामो समयसम्म पानी पर्दा फलको मिठास घट्ने समस्या देखिन्छ।
सिमकोट गाउँपालिका-५ का किसान मानविर रोकायाले आफ्नो बगैंचामा ६० वटा बोटमा स्याउ फलाउनुभएको छ। दुई हजार ९४५ मिटर उचाइमा रहेको उक्त बगैंचामा करिब एक हजार किलोग्रामभन्दा बढी स्याउ फलेको अनुमान गरिएको छ। स्याउ टिप्ने समय नभइसकेको अवस्थामा लगातारको वर्षाले फलको गुणस्तरमा असर पार्ने चिन्ता उहाँले व्यक्त गर्नुभयो।
कृषि विकास कार्यालयका प्रमुख चुडामणी पन्तले हिमाली जिल्ला हुम्लाको स्याउको गुणस्तर उच्च रहने भए पनि अविरल वर्षाले गर्दा स्वादमा कमी आउन सक्ने बताउनुभयो। हाल खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका उच्च भूभागमा रहेका स्याउ अझै पाकिसकेका छैनन्। ती क्षेत्रमा असोज १५ गतेपछि मात्र स्याउ टिप्ने तयारी गरिएको छ।
यसैबीच, ढुवानीमा समेत समस्या देखिएको छ। एक हप्तादेखिको वर्षा र पहिरोले सडक अवरुद्ध हुँदा नाम्खा गाउँपालिका-१ को हेक्पा खोलाबाट संकलन गरिएको सात टन स्याउ सिमकोटमै थन्किएको छ। कृषि विकास कार्यालयका प्रमुख पन्तले लामो समयसम्म स्याउ थन्किँदा फल बिग्रन सक्ने जोखिम रहेको बताउनुभयो।
