काठमाडौं: नेपालको भुक्तानी सेवा प्रदायक ईसेवाले डिजिटल वालेटमार्फत ‘बाइ नाउ, पे लेटर’ (बीएनपीएल) सेवा सुरु गरेको छ। यस सेवाअन्तर्गत ग्राहकले अब ईसेवा प्लेटफर्म प्रयोग गरी ग्यारो ब्रान्डको विद्युतीय स्कुटर किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।
यसका लागि ईसेवा, रिलायन्स फाइनान्स लिमिटेड र स्कुटर बिक्रेता परिमिता इन्भेस्टमेन्ट प्रालिबीच त्रिपक्षीय साझेदारी भएको छ। असोज ८ गते आयोजित कार्यक्रममा ईसेवाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का, रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र परिमिता इन्भेस्टमेन्टका मनन तुलाधरले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।
साझेदारीअनुसार रिलायन्स फाइनान्सले ग्राहकलाई विद्युतीय स्कुटर खरिदका लागि ९.९९ प्रतिशत ब्याजदरमा अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउनेछ। ग्राहकले उक्त ऋण अधिकतम ३६ महिनाको किस्तामा चुक्ता गर्न सक्नेछन्। सम्पूर्ण प्रक्रिया ईसेवा एपमार्फत नै डिजिटल रूपमा पूरा गर्न सकिने कम्पनीले जनाएको छ।
ईसेवाले यो सेवाले ग्राहकलाई एकैपटक ठूलो रकम भुक्तानी गर्नुपर्ने बाध्यताबाट राहत दिने र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ। यसले वातावरणमैत्री यातायात र डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा समेत टेवा पुग्ने कम्पनीको भनाइ छ। आगामी दिनमा पनि ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै यस्ता नवीन सेवा विस्तार गर्दै लैजाने ईसेवाको प्रतिबद्धता छ।
