काठमाडौं: हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकका लागि दुर्घटना बीमा सुविधा ल्याएको छ। कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने भएको हो।
सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकले उनीहरूको सदस्यता वर्गका आधारमा अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन्। कम्पनीले आफ्ना ग्राहकलाई सिल्भर, गोल्ड र डायमन्ड गरी तीन तहमा वर्गीकरण गरेको छ।
वर्गीकरणअनुसार सिल्भर सदस्यले १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यले ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्। यो बीमा सुविधा आगामी बडादसैँको घटस्थापनादेखि लागू हुने कम्पनीले जनाएको छ। गरगहनाको कारोबार गर्दै आएको कम्पनीले ग्राहकको सुरक्षालाई ध्यानमा राखेर बीमा योजना ल्याइएको जनाएको छ।
