काठमाडौं: आगामी दशैंको अवसरमा काठमाडौं उपत्यकाबाट ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजारसम्म यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा तयार पारिएको अध्ययन प्रतिवेदनले यात्रुको चाप व्यवस्थापन गर्न ४३ हजार ५७४ देखि ६५ हजार ३६१ सार्वजनिक सवारी साधन आवश्यक पर्ने देखाएको छ। बुधबार सो प्रतिवेदन पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई बुझाइएको हो।
प्रतिवेदनका अनुसार घटस्थापनादेखि नवमीसम्म यात्रुको चाप उच्च हुनेछ भने फूलपातीको समयमा सडक र सार्वजनिक यातायातमा अत्यधिक दबाब पर्नेछ। गत वर्ष ट्राफिक प्रहरीको तथ्यांकअनुसार ६ लाख ११ हजार यात्रुले उपत्यका छाडेका थिए भने यातायात व्यवसायी महासंघको दाबीअनुसार यो संख्या करिब १९ लाख थियो। गत वर्ष सप्तमीका दिन सबैभन्दा बढी १९ हजार ६७१ सवारी साधन उपत्यकाबाट बाहिरिएका थिए।
दशैंको यात्रालाई व्यवस्थित बनाउन टिकट काउन्टरको व्यवस्थापन, सवारीको फिटनेस परीक्षण, क्षमताभन्दा बढी यात्रु राख्न नपाउने नियमको पालना र टिकटमा हुने कालोबजारी नियन्त्रण गर्नुपर्ने सुझाव प्रतिवेदनले दिएको छ। साथै, लामो दूरीका चालकले पर्याप्त आराम गर्ने सुनिश्चितता, सवारीमा प्राथमिक उपचार सामग्री र अग्नि नियन्त्रक राख्नुपर्नेमा जोड दिइएको छ।
सडक विभागले सम्भावित दुर्घटना र विपद्का घटनालाई मध्यनजर गर्दै १८ स्थानमा ठूला उपकरण र उद्धार टोली तयारी अवस्थामा राख्ने भएको छ। उपत्यका ट्राफिक प्रहरीले १ हजार ३०० भन्दा बढी जनशक्ति परिचालन गर्ने र १० स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरेको छ। काठमाडौं महानगरपालिकाले पनि नगर प्रहरीमार्फत सडक र बसपार्क व्यवस्थापन गर्नेछ। यातायात व्यवसायी महासंघले यस वर्ष १५ देखि १७ लाख यात्रु बाहिरिन सक्ने अनुमान गर्दै तयारी थालेको छ।
मन्त्री लम्सालले प्रतिवेदनमा समेटिएका सुझावहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। अध्ययन समितिले दीर्घकालीन सुधारका लागि सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्नुपर्ने र स्मार्ट सवारी फिटनेस प्रणाली तथा डिजिटल टिकट व्यवस्थालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ।
