वीरगञ्ज: वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/२०८४ का लागि आफ्नो बजेटमा २१ करोड रुपियाँ कटौती गरेको छ। बुधबार सम्पन्न महानगरको २१ औं विशेष नगरसभाले यसअघि असार १० गते सार्वजनिक गरिएको बजेटलाई संशोधन गर्दै नयाँ आकार प्रस्तुत गरेको हो।
महानगरका नगर प्रमुख राजेशमान सिंहले चार अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपियाँको संशोधित बजेट प्रस्तुत गर्नुभएको हो। यसअघि तत्कालीन कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपियाँको बजेट सार्वजनिक गर्नुभएको थियो। विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गते पुनः कार्यभार सम्हाल्नुभएका नगर प्रमुख सिंहले बजेट संशोधन प्रक्रिया अघि बढाउनुभएको हो।
संशोधित बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपियाँ अर्थात् ५६ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपियाँ अर्थात् ४३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपियाँ अर्थात् १ प्रतिशत विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक राजस्व, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडलाई स्रोतको रूपमा लिइएको छ।
नगर प्रमुख सिंहले आन्तरिक राजस्व संकुचन, वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट अपेक्षित स्रोत प्राप्ति नहुनु तथा अनिवार्य चालु खर्चमा वृद्धि भएका कारण बजेट कटौती गर्न बाध्य भएको बताउनुभयो।
बुधबारको विशेष नगरसभामा उप-प्रमुख इम्तियाज आलम अनुपस्थित हुनुहुन्थ्यो। नेपाली कांग्रेस पर्साले आफ्ना जनप्रतिनिधिलाई नगरसभामा सहभागी नहुन ह्वीप जारी गरेको थियो। नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेका अनुसार कुल १ सय ५६ नगरसभा सदस्यमध्ये १ सय १८ जना सभामा उपस्थित हुनुहुन्थ्यो।
