काठमाडौं। हुम्लामा लगाइएको गोल्डेन जातको स्याउ टिप्नका लागि उपयुक्त भएको कृषि प्राविधिकहरूले जनाएका छन्। कृषि विकास कार्यालयका प्रमुख चुणामणी पन्तका अनुसार स्याउको रसिलोपना मापन गर्ने रिफ्याक्टो मिटर परीक्षणमा स्याउ टिप्न योग्य देखिएको हो।
सिमकोट गाउँपालिका-५ को सिम क्षेत्रमा गरिएको परीक्षणमा स्याउको रसिलोपना १३ डिग्री व्रिक्स पाइएको छ। प्राविधिकका अनुसार स्याउको रसिलोपना १२ डिग्री व्रिक्स पुगेपछि बोटबाट टिप्न उपयुक्त हुन्छ। उक्त बगैँचामा फलेको गोल्डेन स्याउको गुणस्तर मापदण्ड पूरा भएकाले किसानहरूलाई अब स्याउ टिपेर बिक्री गर्न कुनै समस्या नरहेको पन्तले बताए।
हुम्लामा स्याउको मूल्य पनि निर्धारण गरिएको छ। जसअनुसार ए ग्रेडको स्याउ प्रति केजी ६० रुपियाँ, बी ग्रेडको ५० रुपियाँ र सी ग्रेडको ४० रुपियाँमा बिक्री हुनेछ। यद्यपि, सोही बगैँचामा फलेको रेड डेलिसियस जातको स्याउ भने अझै टिप्नका लागि परिपक्व भइनसकेको प्राविधिकहरूले जनाएका छन्।
