काठमाडौं। लगातार घटिरहेको सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा कायम भएको छ।
यस दिन कुल ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएका छन्। बिहीबारको कारोबारमा कुल १३९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ वटाको घटेको छ। १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
वृद्धि भएका कम्पनीमध्ये सिन्धु विकास बैंकको मूल्य १०.११ प्रतिशतले बढेको छ। अन्य कम्पनीको वृद्धिदर भने ९.३५ प्रतिशतसम्म सीमित रहेको छ। त्यसैगरी, आजको कारोबारमा केही कम्पनीको मूल्य ९.६६ प्रतिशतसम्मले घटेको छ।
समूहगत परिसूचकतर्फ वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र जलविद्युत् समूहमा सुधार देखिए पनि बाँकी समूहको परिसूचकमा भने गिरावट आएको छ।
