काठमाडौं: स्मार्टफोन ब्रान्ड हनरले एआईमा आधारित अनुवाद सुविधा र ५ हजार एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन हनर च्वाइस टी १० नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यस स्मार्टफोनमा एआई प्रविधिमा आधारित अनुवाद सुविधा दिइएको छ । कम्पनीका अनुसार यसले विभिन्न भाषामा हुने कुराकानीलाई वास्तविक समयमै अनुवाद गर्न सहयोग गर्छ । बहुभाषिक कुराकानीमा भाषाको अवरोध कम गर्ने उद्देश्यले यो सुविधा ल्याइएको हो । यसका साथै इन्टरनेट नभएको अवस्थामा पनि प्रयोग गर्न सकिने गरी मल्टिलिङ्गुअल अफलाइन ट्रान्सलेसन सुविधा पनि उपलब्ध छ ।
हनर च्वाइस टी १० मा ६.७५ इन्चको डिस्प्ले राखिएको छ । ठूलो स्क्रिनका कारण भिडियो हेर्न र इन्टरनेट ब्राउजिङ गर्न सहज हुने कम्पनीले जनाएको छ । यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्रीले दैनिक प्रयोगमा लामो समयसम्म ब्याकअप दिने दाबी गरिएको छ ।
नेपाली बजारमा यो स्मार्टफोन दुई भेरियन्टमा उपलब्ध छ । ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज भएको मोडलको मूल्य १६ हजार ४९९ रूपैयाँ र ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भएको मोडलको मूल्य १९ हजार ४९९ रूपैयाँ तोकिएको छ । इच्छुक ग्राहकले नेपालभरका आधिकारिक हनर रिटेल स्टोरबाट यो फोन खरिद गर्न सक्नेछन् ।
