काठमाडौं: कामना सेवा विकास बैंकको क्रेडिट रेटिङमा स्तरोन्नति भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकलाई यसअघि प्रदान गरेको ‘केयर-एनपी बीबी प्लस (इस्युअर)’ रेटिङलाई बढाएर ‘केयर-एनपी बीबीबी माइनस (इस्युअर)’ कायम गरेको छ।
रेटिङ एजेन्सीका अनुसार ‘केयर-एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त संस्थालाई वित्तीय दायित्व समयमै भुक्तानी गर्ने सम्बन्धमा मध्यमस्तरको सुरक्षा भएको तथा मध्यमस्तरको क्रेडिट जोखिम वहन गर्ने संस्थाका रूपमा लिइन्छ।
बैंकले आफ्नो रेटिङ सुधार हुनुमा पुँजीकोषमा भएको वृद्धि, कर्जाको गुणस्तर व्यवस्थापनमा देखिएको प्रगति, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली, मुनाफामा भएको सुधार, व्यवसाय विस्तार, निक्षेप संरचनामा सुधार, सुदृढ तरलता र बजार हिस्सालगायतका पक्षलाई आधार बनाएको जनाएको छ।
बैंकले यस रेटिङ सुधारबाट निक्षेपकर्ता, ऋणी, शेयरधनी, लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालामाझ बैंकप्रतिको विश्वास थप मजबुत हुने अपेक्षा गरेको छ। साथै, यसले बैंकलाई प्रतिस्पर्धी लागतमा स्रोत परिचालन गर्न तथा संस्थागत निक्षेप र व्यावसायिक साझेदारी विस्तार गर्नसमेत सहयोग पुग्ने बैंकको विश्वास छ।
