काठमाडौं: जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन ‘सन्चो’ को उत्पादन असोज ५ गतेदेखि ठप्प भएको छ। कम्पनीमा कार्यरत मासिक ज्यालादारी श्रमिकहरूले सेवा-सुविधा र श्रम अदालतको फैसला कार्यान्वयनको माग गर्दै आन्दोलन सुरु गरेपछि उत्पादन कार्य रोकिएको हो।
आन्दोलनरत श्रमिक सजना नेपालका अनुसार लामो समयदेखि व्यवस्थापनसँग छलफल र पत्राचार भए पनि माग सुनुवाइ नभएपछि उनीहरू धर्नामा बस्न बाध्य भएका हुन्। श्रमिकहरूले २०८० जेठमा श्रम तथा रोजगार कार्यालय र पछि श्रम अदालतबाट समेत आफ्नो पक्षमा फैसला भएको जनाएका छन्। उनीहरूको मागमा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, उपदान, बिरामी तथा प्रसूति बिदा र चाडपर्व भत्तालगायतका विषय समावेश छन्। श्रमिक मुकुन्द अर्यालले न्यूनतम पारिश्रमिकका केही विषय कार्यान्वयन भए पनि अन्य सुविधाहरू बाँकी रहेको बताउनुभयो।
करिब ३० देखि ३२ जना श्रमिक आन्दोलनमा छन्, जसमा अधिकांश महिला छन्। श्रमिकहरूले तत्काल सबै माग पूरा गर्न कठिन भए पनि चाडपर्व खर्च उपलब्ध गराएर काममा फर्काउने वातावरण बनाउन व्यवस्थापनसँग प्रस्ताव गरेका छन्।
कम्पनीका सूचना अधिकारी धर्मलाल नेपालका अनुसार गत चैतमा भएको आगलागीका कारण संरचना र मेसिनमा क्षति पुगेपछि कम्पनी पुनःस्थापनाको चरणमा छ। आगलागीपछि पनि सीमित स्रोत साधन प्रयोग गरी उत्पादन जारी राखिएको थियो। अहिले उत्पादन रोकिँदा बजारमा दीर्घकालीन असर पर्न सक्ने जोखिम बढेको छ। पछिल्लो दुई महिनामा मात्र कम्पनीले करिब चार करोड रुपैयाँ बराबरको सन्चो बिक्री गरेको थियो।
कम्पनीको वार्षिक उत्पादन क्षमता ५५ लाख पिस रहे पनि गत आर्थिक वर्षमा ३५ लाख पिस मात्र उत्पादन भएको थियो। बिक्री विभागका कार्यवाहक धनसिंह साउँदले श्रमिकको अधिकार र सरकारी कम्पनीको उत्पादन निरन्तरता दुवैलाई सुनिश्चित गर्ने स्पष्ट निकास आवश्यक रहेको बताउनुभयो। हाल कम्पनीले सन्चो बाम, हिमालयन मसाज आयल र शिलाजितलगायतका वस्तुहरू उत्पादन गर्दै आएको छ।
