काठमाडौं: भारी वर्षाका कारण बेनी: जोमसोम-कोरला सडकखण्डमा पुगेको क्षतिले चीनबाट सामान बोकेर आएका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित न्हेचुङ भन्सारमा रोकिएका छन्। बाढीपहिरो र नदी कटानले सडकका विभिन्न स्थानमा क्षति पुर्याएपछि ढुवानी प्रभावित भएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भन्सार यार्डमा रहेका करिब ९० प्रतिशत कन्टेनरको जाँचपास भइसकेको छ। तर सडक अवरुद्ध हुँदा ती सामान गन्तव्यतर्फ पठाउन नसकिएको उनले जानकारी दिए। बाँकी कन्टेनरको जाँचपास पनि दुई दिनभित्र सम्पन्न हुने उनले बताए। सडक अवरुद्ध हुँदा चीनबाट आएका नयाँ कन्टेनरसमेत नाकाबाट तल झर्न सकेका छैनन्।
तातोपानी र रसुवागढी नाका बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको कोरलानाका प्रभावित हुँदा दसैँ-तिहार लक्षित व्यापारमा असर परेको छ। यस नाकाबाट तयारी पोसाक, औद्योगिक कच्चापदार्थ, दैनिक उपभोग्य वस्तु, फलफूल, विद्युतीय सामान र विद्युतीय सवारीसाधन आयात हुने गर्छन्। सडक अवरुद्ध हुँदा करिब २०० वटा विद्युतीय सवारीसाधनसमेत गन्तव्यतर्फ जान सकेका छैनन्।
यसैबीच, पाँच दिनदेखि अवरुद्ध जोमसोम-कोरला सडकखण्ड आजदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। पहिरो पन्छाएर सडक सफा गरेपछि आवागमन खुलाइएको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका अनुसार सडकका ४६ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्याएको थियो। म्याग्दी खण्डमा सडक र पुलको एप्रोजसमेत क्षतिग्रस्त भएकाले केही स्थानमा मर्मतका लागि थप समय लाग्ने आयोजनाले जनाएको छ।
