काठमाडौं। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दुबई उडानलाई नियमित र सफल बनाउन सार्वजनिक आह्वान गरेका छन्।
उनले यस कार्यलाई सफल बनाउन तीनै तहका सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र नागरिक समाजलाई गम्भीरतापूर्वक लाग्न आग्रह गरेका छन्।
मेयर आचार्यले आगामी तीन-चार महिनाको समयलाई विशेष प्राथमिकतामा राखेर पोखरा विमानस्थल प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरे ।
उनले भने, “अहिले पहल गर्न सकिएन भने पछि ‘त्यतिबेला गर्न सकेको भए हुन्थ्यो’ भनेर पश्चात्ताप गर्नुको अर्थ रहने छैन।” यदि अहिले सुरु भएको नियमित उडानलाई निरन्तरता दिन नसकिए भविष्यमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न थप चुनौती आउन सक्ने उनको भनाइ छ।
मेयर आचार्यले पोखरासहित धवलागिरि, चितवन, भरतपुर र बुटवललगायतका क्षेत्रका यात्रुहरूलाई पोखरा विमानस्थलबाट यात्रा गर्न आग्रह गरेका छन्। यात्रुहरूलाई भिसा तथा प्रहरी रिपोर्टलगायतका प्रक्रियामा सहजता प्रदान गर्न समन्वय भइरहेको उनले जानकारी दिए।
साथै, भारतीय नागरिकका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ पोखरा पेन्सन क्याम्पबाटै उपलब्ध गराउन सम्बन्धित दूतावाससँग अनुरोध गरिएको छ।
पोखरामा रहेका करिब दुई दर्जन ट्राभल एजेन्सीहरूले टिकट, भिसा र प्याकेजको व्यवस्था गरिरहेका छन्। मेयर आचार्यका अनुसार काठमाडौंको तुलनामा पोखराबाट हुने हवाई भाडा सस्तो छ। यात्रुहरूलाई यात्राको योजना बनाउन र भाडा दरबारे जानकारी लिन सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीसँग सम्पर्क गर्न सुझाव दिइएको छ। फ्लाई दुबईले पनि पोखराको पुरानो विमानस्थल अगाडि ‘पोखरा-दुबई डेस्क’ स्थापना गरी यात्रुहरूलाई सहजीकरण गरिरहेको छ।
मेयर आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यसको उपयोगिता प्रमाणित गर्न अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।
