काठमाडौं। प्रमोद खरेल, प्रकाश सपुत र देवेन्द्र बब्लु एउटै मञ्चमा प्रस्तुत हुँदै ‘सुरताल म्युजिकल टुर’ सुरु भएको छ। तेह्रथुमको म्याग्लुङमा आयोजित कार्यक्रममा हजारौं दर्शकमाझ कलाकारहरूले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेका छन्।
कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा’, प्रकाश सपुतले ‘गलबन्दी’ र देवेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीतहरू गाएका थिए। प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाशको भाका ब्यान्ड र देवेन्द्र बब्लुको फिरन्ते ब्यान्डको लाइभ प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। आयोजक प्रशान्त सुनारका अनुसार उक्त सांगीतिक कार्यक्रम राति १२ बजेसम्म चलेको थियो।
सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा सुरु भएको यो टुर सातै प्रदेशका १३ शहरमा सञ्चालन हुनेछ। तेह्रथुमपछि असोज १७ गते संखुवासभाको खाँदबारी र असोज १९ गते धनकुटाको हिलेमा कन्सर्ट हुनेछ। त्यसैगरी मंसिर २ गते महेन्द्रनगर र मंसिर ५ गते धनगढीमा कार्यक्रम तय गरिएको छ। यसबाहेक नेपालगन्ज, सुर्खेत, तुलसीपुर, बुटवल, चितवन, पोखरा र धरानमा पनि सांगीतिक कार्यक्रम हुने आयोजकले जनाएका छन्। यी तीन कलाकारलाई एउटै टुरमा समेटेर सातै प्रदेशमा कार्यक्रम गरिएको यो पहिलो पटक भएको आयोजकको भनाइ छ।
