काठमाडौं। दिव्यदेव पन्त अभिनित चलचित्र ‘बाः एक योद्धा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो सातामा फिल्मले एक करोड ११ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
फिल्मका अनुसार पहिलो दिन ६ लाख रुपैयाँको व्यापार गरेको थियो। सात दिनको अवधिमा ४० हजार ८२३ जना दर्शकले हलमा पुगेर चलचित्र हेरेका छन्। दर्शकको सकारात्मक प्रतिक्रियाका कारण हलहरूले शो संख्यामा वृद्धि गरेका छन्। वितरकका अनुसार हाल देशभर चलचित्रले एक सयभन्दा बढी शो पाएको छ।
अभिनेता दिव्यदेवले फिल्मको व्यापारलाई विद्युतीय सवारी साधनसँग तुलना गर्दै यसले विस्तारै गति लिइरहेको बताएका छन्। निर्देशक हरि लम्सालले दर्शकको चाप हरेक दिन बढ्दै गएको र परिवारका सदस्यहरूलाई समेत फिल्म हेर्न सिफारिस गरिरहेको जानकारी दिए।
हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र वृद्ध अवस्थामा उनीहरूले भोग्ने चुनौतीलाई मुख्य विषय बनाएको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् भने कार्यकारी निर्माता अनिल बुढाथोकी रहेका छन्।
फिल्ममा दिव्यदेवसहित झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।
