काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
पारित लाभांशमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश समावेश छ। बोनस शेयर वितरणसँगै बैंकको चुक्ता पुँजी ३९ अर्ब ६८ करोड ६० लाख रुपैयाँ पुगेको छ। सभाले बैंकको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
समीक्षा अवधिमा बैंकले ६ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। बैंकको सञ्चालन मुनाफा ९ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शेयरधनी, ग्राहक र नियामक निकायको सहयोगले बैंकले दुई दशकको यात्रा सफलतापूर्वक पूरा गरेको बताए। उनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति पालना गर्दै बैंकलाई सुरक्षित र भरपर्दो बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्न डिजिटल बैंकिङ प्रणालीमा लगानी विस्तार गरिने उनले जानकारी दिए।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
