काठमाडौं। एनआईसी एसिया बैंकले नेपालमै पहिलो पटक एप्पल पे र गुगल पेमार्फत भुक्तानी स्वीकार गर्ने सेवा सुरु गरेको छ। बैंकको ई-कमर्स पेमेन्ट गेटवेमा आबद्ध व्यवसायीहरूले अब विश्वभरका एप्पल पे र गुगल पे प्रयोगकर्ताहरूबाट सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन्।
यस सुविधाअन्तर्गत बैंकको साइबरसोर्स पेमेन्ट गेटवे प्रयोग गर्ने मर्चेन्टहरूले भिसा तथा मास्टरकार्ड प्रयोगकर्ताहरूबाट सुरक्षित रूपमा कारोबार गर्न सक्नेछन्। एप्पल पे र गुगल पे मोबाइलमा आधारित विश्वव्यापी भुक्तानी माध्यम हुन्। यसमा ग्राहकले आफ्नो कार्डको विवरणलाई टोकनाइज गरी भौतिक कार्ड प्रयोग नगरी नै भुक्तानी गर्न सक्छन्।
बैंकका अनुसार विशेषगरी होटल, ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई-कमर्स र आईटी क्षेत्रका व्यवसायीहरूले यसबाट लाभ लिन सक्नेछन्। अन्तर्राष्ट्रिय ग्राहकहरूलाई परिचित पेमेन्ट अनुभव प्रदान गर्दा नेपाली व्यवसायीहरूको व्यापार विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास छ।
यो सेवाले विदेशी मुद्रा आर्जनको सम्भावना बढाउनुका साथै पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। नेपालमा पहिलो पटक सुरु भएको यो डिजिटल भुक्तानी प्रणालीले अन्तरदेशीय कारोबारलाई थप आधुनिक र सुरक्षित बनाउने बैंकले जनाएको छ।
