काठमाडौं। माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट र सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नयाँ च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ। बैंकले आफ्नो आधिकारिक वेबसाइटमार्फत यो सेवा सञ्चालनमा ल्याएको हो।
बैंकको वेबसाइट www.machbank.com मा रहेको मायाको आइकनमा क्लिक गरेर ग्राहकले आफ्ना जिज्ञासाहरू राख्न सक्नेछन्। यो डिजिटल प्लेटफर्म ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको बैंकले जनाएको छ।
नियमित बैंकिङ सेवाका लागि बैंकको शाखा पुग्नुपर्ने वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने बाध्यतालाई कम गर्न यो प्रविधि सहयोगी हुने विश्वास बैंकले लिएको छ। मायाको प्रयोगले बैंकको स्मार्ट बैंकिङ सेवातर्फको दृष्टिकोणलाई थप टेवा पुर्याउनेछ।
बैंकले ग्राहकका जिज्ञासालाई अझ सटीक र प्रभावकारी रूपमा सम्बोधन गर्न यो च्याटबोटको क्षमतालाई निरन्तर परिष्कृत गर्दै लैजाने जनाएको छ। साथै, ग्राहकबाट प्राप्त हुने सुझाव र अनुभवका आधारमा भविष्यमा यसको उपयोगिता थप बढाउँदै लैजाने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ।
