घोराही। दाङको गढवा गाउँपालिका-५ चैनपुरका सलीम खानले भैँसी व्यापारबाट तीन दशकभन्दा बढी समयमा करिब ३५ लाख रुपियाँ बराबरको जग्गा जोडेको छ। देउखुरी क्षेत्रमा भैँसी खरिद गरी रोल्पा, प्युठान, अर्घाखाँची र गुल्मीसम्म पुर्याएर बिक्री गर्दै आउनुभएका खानले आफ्नो मेहनतले एक बिगाह जग्गा जोड्न सफल भएको हो। उनले भने, ‘एकै समयमा होइन, विभिन्न समयमा दुई कट्ठा, पाँच कट्ठा गर्दै एक विगाह जग्गा जोडेका छौ। अहिलेको बजार मूल्य अनुसार उक्त जग्गा करिब ३० देखि ३५ लाख रुपियाँ बराबरको छ।’
व्यापारलाई व्यवस्थित बनाउन उहाँले १० वर्षअघि ‘समिर भैँसी फर्म’ दर्ता गरेको थियो। फर्म दर्तापछि जिल्लाबाहिर व्यापार गर्न सहज भएको उनको अनुभव छ। देउखुरीको राजपुर र गढवा भैँसीपालनका पकेट क्षेत्र भएकाले पनि व्यवसाय सञ्चालन गर्न सजिलो भएको छ। ग्राहकको माग अनुसार उनले घरमै भैँसी पुर्याउने सुविधासमेत दिँदै आएको छ।
हाल यो व्यवसायमा उहाँका दुई छोराले पनि सघाउँदै आएका छन्। छोरा समिरका अनुसार घरमा ७ देखि ८ वटा भैँसी राखेर घाँसपात र हेरचाहको काम गरिन्छ। भैँसी खरिद-बिक्रीबाट मासिक ४० देखि ५० हजार रुपियाँसम्म नाफा हुने गरेको उनले बताए। दूध दिने भैँसीको गुणस्तर अनुसार ५० हजारदेखि १ लाख ५० हजार रुपियाँसम्ममा बिक्री हुने गर्दछ। पहिलेको तुलनामा भैँसी पाल्ने मानिस घटे पनि मूल्य बढेकाले आम्दानी सन्तोषजनक रहेको खान परिवारको भनाइ छ।
