काठमाडौं। अष्ट्रेलियाको श्रम बजारमा रोजगारीका लागि उपलब्ध रिक्त पदको संख्या लगातार दोस्रो त्रैमासिक अवधिमा घटेको छ। अष्ट्रेलियाली तथ्याङ्क ब्युरोद्वारा सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार अगस्टसम्मको तीन महिनामा रोजगारीका रिक्त पद ०.९ प्रतिशतले घटेका हुन्। यस अवधिमा कुल रिक्त पद ३ हजारले घटेर ३ लाख २५ हजारमा सीमित भएको छ। यसअघि मे महिनासम्मको तीन महिनामा पनि रिक्त पद २.२ प्रतिशतले घटेको थियो।
निजी क्षेत्रमा रोजगारीको मागमा बढी गिरावट देखिएको छ। अगस्टसम्मको तीन महिनामा निजी क्षेत्रका रिक्त पद २ प्रतिशत अर्थात् ५ हजार ८ सयले घटेका छन्। यसको विपरीत, सार्वजनिक क्षेत्रमा भने रिक्त पद ७.८ प्रतिशत अर्थात् २ हजार ८ सयले बढेका छन्। उद्योगगत रूपमा थोक व्यापार क्षेत्रमा रिक्त पद १८ प्रतिशतले र व्यावसायिक, वैज्ञानिक तथा प्राविधिक सेवा क्षेत्रमा १७.३ प्रतिशतले घटेका छन्।
यद्यपि, केही क्षेत्रमा रोजगारीको मागमा वृद्धि पनि देखिएको छ। खुद्रा व्यापार क्षेत्रमा रिक्त पद २४.५ प्रतिशतले र वित्तीय तथा बीमा सेवामा १४ प्रतिशतले बढेका छन्। वार्षिक तथ्याङ्कलाई हेर्दा पनि अष्ट्रेलियामा रोजगारीका रिक्त पद १.३ प्रतिशतले घटेको पाइएको छ। यसले अष्ट्रेलियाको श्रम बजारमा क्षेत्रगत रूपमा रोजगारीको मागमा फरक अवस्था रहेको संकेत गर्दछ।
