काठमाडौं: नेपा एपले आफ्नो नयाँ संस्करणमा दैनिक जीवनमा उपयोगी हुने १० भन्दा बढी नयाँ उपकरणहरू थप गरेको छ। प्रयोगकर्तालाई थप सहज र बहुउद्देश्यीय सेवा प्रदान गर्ने उद्देश्यले यी सुविधाहरू सार्वजनिक गरिएको हो।
नयाँ संस्करणमा पीडीएफ कागजात स्क्यान, क्यूआर कोड स्क्यान, इन्टरनेट गति परीक्षण, महिनावारी चक्र विवरण, एकाइ रूपान्तरण, गणितीय हिसाब, टिपोट तथा सम्झना, ऋण हिसाब, स्थान पत्ता लगाउने र कर हिसाब गर्ने उपकरणहरू समावेश छन्। यी उपकरणहरूको प्रयोगबाट प्रयोगकर्ताले मोबाइलबाटै विभिन्न डिजिटल कामहरू सहजै गर्न सक्नेछन्।
एपका अनुसार पीडीएफ स्क्यान सुविधाले कागजातलाई डिजिटल रूपमा सुरक्षित राख्न मद्दत गर्नेछ भने इन्टरनेट गति परीक्षणले मोबाइलको इन्टरनेटको अवस्थाबारे जानकारी दिनेछ। महिनावारी चक्रसम्बन्धी उपकरणले चक्रको विवरण राख्नुका साथै सम्भावित समयबारे सूचना दिने सुविधा प्रदान गर्दछ। यसबाहेक, ऋण र कर हिसाब गर्ने उपकरणले प्रयोगकर्तालाई वित्तीय गणनामा सहयोग पुर्याउनेछन्। टिपोट तथा सम्झना सुविधामार्फत महत्वपूर्ण जानकारी र आवाजलाई सुरक्षित राख्न सकिनेछ।
नेपा एपले प्रयोगकर्ताको आवश्यकता र सुझावलाई मध्यनजर गर्दै आगामी दिनमा थप नयाँ सुविधाहरू ल्याउने जनाएको छ। हाल यस एपमा नेपाली पात्रो, पञ्चाङ्ग, राशिफल, समाचार, जिल्ला समाचार र एफएम रेडियोलगायतका सामग्रीहरू उपलब्ध छन्।
