काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकिङसम्बन्धी जानकारी तथा सेवासम्बन्धी जिज्ञासा डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ।
बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘माया’मार्फत ग्राहकले विभिन्न बैंकिङ सेवासम्बन्धी जिज्ञासा च्याटमार्फत राख्न सक्नेछन्। नियमित जानकारीका लागि शाखा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्ने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
बैंकका अनुसार ‘माया’ अन्तरक्रियात्मक डिजिटल प्लेटफर्मका रूपमा विकास गरिएको हो। यसमार्फत ग्राहकले बैंकिङ सेवा, प्रक्रिया तथा आवश्यक जानकारी डिजिटल माध्यमबाट प्राप्त गर्न सक्नेछन्।
च्याटबोट सार्वजनिक गर्नु बैंकको डिजिटल बैंकिङ विस्तार तथा ग्राहक सेवामा प्रविधिको प्रयोग बढाउने योजनाको हिस्सा भएको बैंकले जनाएको छ। बैंकले प्रविधिको प्रयोगमार्फत सेवा प्रक्रियालाई थप सहज, छिटो र ग्राहककेन्द्रित बनाउने लक्ष्य राखेको छ।
बैंकले ‘माया’को क्षमता र कार्यसम्पादनलाई ग्राहकको प्रयोग तथा प्राप्त सुझावका आधारमा निरन्तर सुधार गर्दै लैजाने जनाएको छ। ग्राहकका जिज्ञासालाई अझ सटीक र सान्दर्भिक रूपमा सम्बोधन गर्न च्याटबोटको कार्यक्षमता थप परिष्कृत गरिने बैंकको भनाइ छ।
ग्राहकबाट प्राप्त प्रतिक्रिया तथा प्रयोगबाट प्राप्त तथ्यका आधारमा भविष्यमा ‘माया’को शुद्धता, उपयोगिता र सेवा क्षमतालाई थप विस्तार गर्ने योजना बैंकले अघि सारेको छ।
